रेडियो नेपालमा कार्यकारी निर्देशक माग

रेडियो नेपालमा कार्यकारी निर्देशक माग

रेडियो नेपालमा नयाँ कार्यकारी निर्देशक नियुक्त गर्न लागिएको छ । चारवर्षे कार्यकाल सकेर बुद्धिबहादुर केसी घर फर्केसँगै सञ्चार मन्त्रालयले पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । 

मन्त्रालयको सूचनाअनुसार आगामी सात दिनभित्र योग्यता पुगेका इच्छुकले आवेदन दिन सक्ने छन् । उम्मेदवारको शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने छ । त्यस्तै, सञ्चार माध्यममा प्रधानसम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रुपमा काम गरेको अनुभव पनि चाहिने छ । आमसञ्चारसम्बन्धी प्राज्ञिक वा नीति निर्माण तहमा रही काम गरेको तथा आमसञ्चार क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्ने सूचनामा जनाइएको छ । 

सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको सेवामा रहेको वा सेवाबाट अवकाश प्राप्त दुवै व्यक्तिको हकमा भने कम्तीमा अधिकृतस्तरको पदमा काम गरेको हुनुपर्ने जनाइएको छ । 

यस्तै, पत्रकार आचारसंहिता उल्लंघनअन्तर्गत सजाय नपाएको, कानूनबमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको र ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् । 

दरखास्तका साथ नियुक्ति हुन चाहेको व्यहोरा, व्यक्तिगत विवरण, व्यावसायिक कार्ययोजना र विदेशको स्थायी आवासीय अनुमतिपत्र नलिएको स्वःघोषणा पत्र पनि बुझाउनुपर्नेछ । उम्मेदवारले पेश गर्ने व्यावसायिक कार्ययोजना, सोको प्रस्तुतीकरण र अन्तवार्ताको मूल्यांकनका आधारमा नियुक्तिका लागि सिफारिस गरिने मन्त्रालयले जनाएको छ ।
 

टिप्पणीहरू