काठमाडौँमा जम्मू र कश्मीरसम्बन्धी कार्यक्रम
नेपालस्थित पाकिस्तानी दूतावासले ‘युम–ए–इस्तेसल : अनरिङ द स्पिरिट अफ रेसिसटेन्स् इन कश्मीर’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
पत्रकार, लेखक, विश्लेषक तथा मानव अधिकारकर्मीहरुको उपस्थितिमा दूतावासमा अन्तरक्रिया गराइएको हो । सो क्रममा पाकिस्तानी राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश पढेर सुनाइएको छ ।
राष्ट्रपति आसिफ अली जर्दारीले सन्देशमा भारतले सन् २०१९ अगस्ट ५ देखि जम्मू र कश्मीर कब्जा गरेको र सो संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव तथा चौंथो जेनेभा महासन्धिसहित अन्तर्राष्ट्रिय कानुनविपरीत भएको उल्लेख गरेका छन् ।
त्यस्तै, उनले जम्मू र कश्मीरको जनताको आत्मनिर्णयको अपरिहार्य अधिकारको प्राप्तिको लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा न्यायपूर्ण, कूटनीतिक र राजनीतिक समर्थन जारी राख्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री मियाँ मुहम्मद शाहबाज शरीफले भारतले विश्वलाई जम्मू र कश्मीर आफ्नो अभिन्न अंग भनेर विश्वस्त पार्ने प्रयास गरिरहेको बताए ।
सन्देशमा उनले भनेका छन्,‘भारतले विश्वलाई जम्मू र कश्मीर भारतको अभिन्न अंग हो भनेर विश्वस्त पार्ने प्रयास गरिरहेको छ । तर, अन्तर्राष्ट्रिय कानुन, ऐतिहासिक तथ्य, नैतिक सिद्धान्त र धरातलको अवस्थाले भारतको निराधार दाबीलाई अस्वीकार गर्छ । दक्षिण एसियामा दिगो शान्ति र सुरक्षाको हितमा भारतले विवाद अस्वीकारबाट समाधानतर्फ अघि बढ्नुपर्छ ।’
त्यस्तै, उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इशाक दारले भारतले कश्मीरी जनताको मौलिक अधिकार मात्र नभई संयुक्त राष्ट्र संघको प्रस्ताव र मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाए । नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले जम्मू र कश्मीरका जनताको न्यायका लागि विश्वको समर्थन आवश्यक रहेको बताए ।
टिप्पणीहरू