मागेको विवरण पठाउन सहकारी संस्थालाई निर्देशन
झापाको दमक नगरपालिकाले बचतकर्ताको निक्षेप रकम र कर्जा प्रवाहसम्बन्धी विवरण पठाउन सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ ।
नगरपालिकाले नगर क्षेत्रमा संचालित सहकारी संस्थालाई साउन २५ भित्र विवरण पठाउन भनेको हो । यसअघि विवरण उपलब्ध गराउन अनुरोध गरिएकोमा अटेरी भएको भन्दै नगरपालिकाले अब पनि त्यस्तै गरे सहकारी ऐन, २०७४ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
सहकारीका सदस्यको कूल संख्या, बचतकर्ताको संख्या, बचत रकम, ऋणी सदस्य संख्या, संस्थाबाट प्रवाह भएको ऋण लगानी रकमको विवरण नगरपालिकाले मागेको छ । त्यस्तै, भाका नाघेको ऋण रकम, एकाघरका सदस्यहरुमा अलग–अलग ऋण लगानी भए-नभएको र एकै सदस्यलाई एक पटकभन्दा बढी ऋण लगानी भए-नभएको विषय पनि जानकारी गराउन भनिएको छ ।
दोहोरो सदस्य रहे-नरहेको, एकाघरका दुई वा सोभन्दा बढी सदस्य सञ्चालन रहे-नरहेको र कर्मचारीहरुको संख्या पनि उपलब्ध गराउन निर्देशन दिइएको छ ।
‘तोकिएको समयभित्र विवरण नपठाएमा विवरण पठाउनुपर्ने जिम्मेवार व्यक्तिलाई दमक सहकारी ऐन, २०७५ को दफा १०१ को उपदफा (२) बमोजिम जरिवाना हुने जानकारी गराइन्छ,’ नगरपालिकाले भनेको छ ।
टिप्पणीहरू