त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर : भदौमा भर्ना, असारमा परीक्षा

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर : भदौमा भर्ना, असारमा परीक्षा

त्रिभुवन विश्वविद्यालयले वार्षिक कार्यतालिकासहित शैक्षिक सत्र २०८१÷०८२ का लागि स्नातक तहमा नयाँ भर्ना खुलाएको छ । त्रिवि शिक्षाध्यक्षको कार्यालयले मानविकी तथा सामाजिक, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत क्याम्पसहरुमा यही साउन २८ गतेदेखि फाराम वितरण गर्ने जनाएको छ । 

जारी सूचनामा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसहरुमा शैक्षिक वर्ष २०८१÷०८२ को वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना हुने जनाइएको छ ।

त्रिविले वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सम्पूर्ण कार्यतालिका नै सार्वजनिक गरेको छ । जसअनुसार साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउने समय तोकिएको छ । 

असोजदेखि कक्षा सञ्चालन हुनेछ । २०८२ वैशाखमा विद्यार्थीले अन्तिम परीक्षा फाराम भर्नुपर्छ । त्यस्तै, जेठमा कक्षा समाप्त भई सोही वर्षको असारमा अन्तिम परीक्षा हुनेछ । असोजमा नतिजा प्रकाशन गरिने तालिका छ । 

विद्यार्थीले प्रवेश चाहेको प्रत्येक संकाय, अध्ययन संस्थान र विषयअनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनुपर्ने शिक्षाध्यक्षको कार्यालयले जनाएको छ । आवेदन दिँदा फारामसँगै हालसालै खिचेको र ट्रान्सक्रिष्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पनि बुझाउनुपर्नेछ ।

प्रकाशित शैक्षिक तालिकाअनुसार विद्यार्थी भर्ना, कक्षा र परीक्षा सञ्चालन गर्न समेत सम्बन्धित निकायहरुलाई विश्वविद्यालयले निर्देशन दिएको छ ।

टिप्पणीहरू