इजरायल लाँदा गडबडीको आशंका,कार्वाहीको तयारी

इजरायल लाँदा गडबडीको आशंका,कार्वाहीको तयारी

इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा जाने सहायक कामदार (केयर गिभर) को छनौट प्रक्रियामाथि छानबिन हुने भएको छ । केयर गिभरको छनौट प्रक्रियामा पेश गरिएको कागजातबारे विभिन्न प्रश्न उठेपछि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ । 

मन्त्रालयका उपसचिव मेघनाथ रिजालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिइएको छ । प्रवक्ता सहसचिव गोविन्दप्रसाद रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘छनौट प्रक्रियामा पेश भएका कागजातहरुको आधिकारिकता जाँच गर्नुका साथै समग्र छनौट प्रक्रियालाई विश्वासनीय र पारदर्शी बनाउन यस मन्त्रालयका उपसचिव मेघनाथ रिजालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी गराइन्छ ।’

नेपाल सरकार र इजरायल सरकारबीच भएको सम्झौताअनुसार वैदेशिक रोजगार विभागले गत असारमा इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा केयर गिभरको रुपमा काम गर्न इच्छुक आठ सय जनाका लागि दरखास्त आह्वान गरेको थियो । तर,विभागले पछि कामदार संख्या थप गर्दै दुई हजार कायम गर्यो । 

जसअनुसार केयर गिभरका लागि कूल चार हजार २४ जनाले आवेदन दिएकोमा तीन हजार ४६१ जनाको मात्रै आवेदन सदर भएको छ । तर, कतिपय आवेदकले केयर गिभरको तालिम नै नलिई नक्कली प्रमाणपत्र पेश गरेको पाइएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो । 

मन्त्रालयले नेपाल र इजरायलबीच भएको द्विपक्षीय ‘जी टु जी’ सम्झौताअनुरुप छनौट प्रक्रिया कार्यान्वयन तथा व्यवस्थित र पारदर्शी बनाउनेसमेत बताएको छ ।

टिप्पणीहरू