सानाले तिरिरहने,ठूलाले पिरिरहने
पहुँचवाल र विवादित व्यवसायीले विद्युत प्राधिकरणको करोडौं रुपैयाँ बक्यौता राख्दै सकेसम्म भुक्तानी नगर्न राजनीतिक दल तथा तिनका नेता गुहार्दै हिँडेको बेला केही साना उद्योगीले भने त्यस्तो रकम तिर्न थालेका छन् । भैरहवा,बुटवल क्षेत्रका चार उद्योगले २५ प्रतिशत जरिवानासहित डेडिकेटेड तथा ट्रंक लाइनको प्रिमियम बक्यौता रकम भर्खरै बुझाएका छन् ।
प्राप्त विवरणअनुसार यशोदा फुड्स प्रालिले ४ लाख २५ हजार २३१, जय दुर्गा प्लास्टिकले ७० हजार ५३२,सोना प्याकेजिङले ३ लाख ५५ हजार ०६७, न्यू नारायण रबर इण्डष्ट्रिजले ६५ हजार र सोना पोलिमर्स इण्डष्ट्रिजले ३ लाख ४६ हजार ३८९ रुपैयाँ बक्यौता रकम बुझाएकोे जानकारी दिएका छन् ।
न्यू नारायण रबरले १० लाख २५ हजार १३५ रुपैयाँ बक्यौतामध्ये असार मसान्तसम्म उक्त रकम बुझाएको हो । उसले मासिक ५० हजारको दरले १८ किस्तासम्म बाँकी रकम बुझाउने जानकारी प्राधिकरणलाई दिएको छ ।
तर, ठूला उद्योगपतिहरुले ६१ वटा उद्योगमा डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरेवापत प्राधिकरणलाई छ अर्ब ६० करोड ७८ लाख रुपैयाँ तिर्न बाँकी छ । त्यसमा २५ प्रतिशत जरिवाना जोडिँदा करिब आठ अर्ब हुन आउँछ । लाल आयोगको प्रतिवेदनका आधारमा ठूला उद्योगीले १३ अर्बभन्दा बढी रुपैयाँ छुट पाइसकेका छन् ।
टिप्पणीहरू