आफ्नै मुखमा तित्रा बसेपछि ..

आफ्नै मुखमा तित्रा बसेपछि ..

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको विरोधमा स्थानीयले चर्का नारा लगाउन थालेका छन् । खानेपानीको नाराले उक्सिएका उनी खानेपानीको भाउ बढाएसङ्गै स्थानीयद्वारा उपमहानगर अगाडि धर्ना,नाराबाजी र प्रदर्शनको सामना गर्न बाध्य भएका छन् ।

एकातिर आफ्नो एकांकी निर्णय, अर्कोतिर हरेक विषयलाई जातीय रुपमा फैलाउन खोज्ने उनको शैलिप्रति प्रमुख दलका नेताहरुले चासो देखाउन थालेका छन् । पानीको महशुल बढाएपछि उत्पन्न लफडा र घेराउवीच आवश्यक छलफल तथा समन्वयका लागि एमालेले शेरधन राई र काँग्रेसले राजीव कोइरालालाई धरान पठाउने निर्णय गरेका छन् । 

उनीहरुले धरानमा बोलाइएको सर्वदलीय बैठकबाट तत्काल समस्या समाधानको उपाय निकाल्ने बताइएको छ । त्यहाँका मेयर हर्क साम्पाङ्गले खानेपानी शुल्कमा २० रुपैयाँ बढाएपछि तोडफोड शुरु भएको छ । दुई वर्षअघि नगरबासीलाई खानेपानी उपलब्ध गराउने वचनबद्धताका साथ चुनाव जितेका उनले हरेक विषयलाई जातीय रंग दिन खोजेको  धरानबासीको भनाई छ ।
 
यता नगरप्रमुख राई सुरक्षाको निम्ति नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दायाँबायाँ राखेर उभिनुपर्ने अवस्था आएको छ । नागरिकको बीचमा एक्लै गएर जितेको व्यक्ति अहिले प्रहरीको घेरामा उभिन बाध्य हुनु उनको लोकप्रियता खस्कनुको प्रमाण हो । उपमहानगरपालिकाको गेटमा विरोध प्रदर्शनवीच घमासान भएसँगै विद्यार्थीहरुले मूर्दावादको नारा घन्काउन थालेका छन् । राईले सामाजिक सञ्जालमा जथाभावी लेख्दै स्थानीयबासी र राजनीतिक दलका नेता तथा कार्यकर्ताको हुर्मत लिन थालेपछि अहिले शुल्क बृध्दिका नाममा धरान अशान्त बन्न थालेको धेरैको बुझाइ छ ।

टिप्पणीहरू