बैंक खाताबाट निक्षेप गायबको घटना बढ्दो, अधिकांशमा कर्मचारीकै संलग्नता

बैंक खाताबाट निक्षेप गायबको घटना बढ्दो, अधिकांशमा कर्मचारीकै संलग्नता
सुन्नुहोस्

सर्वसाधारणले बैंकमा पैसा किन जम्मा गर्छन् ? बैंक स्थापनाको उद्देश्य के हो ? कुनै पनि व्यक्तिले रकम बचत गर्ने र चाहिएको बखत सहजै निकाल्नसक्ने सुरक्षित र भरपर्दो मानिएको वित्तिय संस्था नै बैंक हो । आफ्नो रकमको सुरक्षा र केही ब्याज पाउने उद्देश्यले आम नागरिकले बैंकमा आफुसँग भएको रकम जम्मा गर्ने गर्छन् । बैंकले पनि बचतकर्ताको रकममा ग्यारेन्टी प्रदान गर्छ ।

हाम्रोमा बैंक तथा वित्तिय संस्थालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा विभाजन गरिएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई ‘क’ वर्गको बैंकको दर्जा दिएको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थामध्ये वाणिज्य बैंकलाई निकै भरपर्दो मानिएको छ । अन्य वित्तिय संस्थाभन्दा यी बैंकमा सर्वसाधारणले बढी विश्वास गरेर आफुसँग भएको रकम जम्मा गर्ने गरेका छन् ।

तर, पछिल्लो समय वाणिज्य बैंकलगायत वित्तिय संस्थामा बचतकर्ताको रकम खाताबाट गायब भएको एकपछि अर्को घटना बाहिरिएका छन् । जीवनभर दुःख गरी कमाएर बैंकमा सुरक्षित र थोरै भएपनि ब्याज आउने आशमा राखिएको रकम एकाएक खाताबाटै हराउँदा बचतकर्ताहरु बिचल्लीमा परेका छन् । बैंककै कर्मचारीहरुले बचतकर्ताको खाताबाट रकम चोरी गरेको तथ्यसमेत फेला परेका छन् । यस्ता घटना अहिले सामान्य हुन थालेको छ ।

झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखामा कार्यरत एक जना कर्मचारीले बचतकर्ताको झण्डै सवा करोड रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौला बचतकर्ता मञ्जुकुमारी नेपालको एक करोड १७ लाख रुपैयाँ गायब पारेपछि बेपत्ता भएका छन् । मञ्जुले गत माघ ३ गते एक करोड १९ लाख ९३ हजार रुपैयाँ मुद्दती खातामा जम्मा गरेकी थिइन् । छ महिनापछि उनी पैसा निकाल्न बैंकमा पुगेर खातामा मौज्दात हेर्दा दुई लाख मात्र देखियो ।

अर्कोतर्फ, उनको रकम जम्मा गर्ने कर्मचारीको अहिले कुनै अत्तोपत्तो नै छैन । मञ्जुले जिल्ला प्रहरी कार्यालयमा मार्केटिङ म्यानेजर सिटौलाविरुद्ध जाहेरी समेत दर्ता गराएकी छन् । यता, बैंकले भने आधिकारिक च्यानलबाटै पैसा जम्मा नभएको दाबी गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख बद्रीबहादुर कटवालको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले मञ्जुको मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई नक्कली रहेको बताएको छ ।

‘उक्त शाखा कार्यालयका निक्षेपकर्ता मन्जुकुमारी नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेश गरेको निवेदनबमोजिमको रकम सम्बन्धित खातामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानबिन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनाधिकृत एंव नक्कली रहेको प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानबिन भइरहेको र कानूनबमोजिम अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ,’ बैंकद्वारा गत शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।  

रकम गायबमा कर्मचारीकै संलग्नता

दुई वर्ष वर्षअघि एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताको डेढ करोड रकम चोरी भएको घटना बाहिरियो । २०७९ चैतमा ३३ जना बचतकर्ताको खाताबाट एक करोड ५० लाख २३ हजार रुपैयाँ चोरी भएको उजुरी प्रहरीसमक्ष पुग्यो । सोही उजुरीको आधारमा प्रहरीले बैंकको इटहरी शाखाबाट हालसालै उदयपुर गाइघाटमा सरुवा भएका अपरेशन इञ्चार्ज निरज प्रधानलाई पक्राउ गर्यो । अनुसन्धानको क्रममा यति ठूलो रकमको घोटाला गर्ने उनीसहित नौ जना रहेको पोल खुलेको हो ।

बैंकका इटहरी शाखा प्रबन्धक विश्वराज शाक्य, सुपरभाइजर धावा लामा, कनिष्ठ सहायक मनोज घिमिरे, देवारज शर्मा, रञ्जित पण्डित र टेलर पवित्रा कटुवाललाई पक्राउ गरिएको थियो । त्यस्तै, चोरीमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुरका अजय खिउजू पनि समातिएका थिए । उनीहरुले ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरी नक्कली चेक बनाएर रकम झिक्ने गरेको पाइएको थियो ।

उक्त घटना सेलाउन नपाउँदै फेरि अर्को घटना बाहिरियो । माछापुच्छे« बैंकको खाताबाटै ग्राहकको नौ लाख रुपैयाँ गायब भएको खबर सञ्चारमाध्यममा छरपस्ट भए । बैंकको रौतहटस्थित चन्द्रपुर शाखामा खाताबाट नौं लाख रुपैयाँ हराएको भन्दै पीडित बचतकर्ता बैंक कार्यालय घेराउ पुगे । बचतकर्ताहरुले बैंक नै घेरेपछि यो घटना सतहमा आएको थियो ।

पछि बैंकले अनुसन्धानको क्रममा ह्याकरले ग्राहकको मोबाइल बैंकिङ्ग प्रयोग गरी सम्पूर्ण रकम अन्य बैंकका विभिन्न खाता तथा खल्ती वालेटमा ट्रान्सफर गरेको स्पष्टीकरण दिँदै आफ्नै तर्फबाट नौ लाख रुपैयाँ बराबरको चेक दिएको थियो । अहिले रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५, रोहिणीहवामा सञ्चालित बैंकको ‘शाखारहित बैंकिङ सेवा’ कार्यालयमा स्थानीयले जम्मा गरेको करोडौं रकम हिनामिना भएको अर्को आरोप लागेको छ ।

खाताबाट नै पैसा गायब भएपछि केही समयअघि निक्षेपकर्ताहरु आन्दोलनमा समेत उत्रिएका थिए । अनेक दुःख गरेर जम्मा गरेको रकम आफ्नो खातामा नभेटिएपछि पीडित बचतकर्ताहरुले सम्बन्धित सबै निकाय गुहारेका छन् । बैंकका कर्मचारीले पैसा उठाएर खातामा इन्ट्री नै नगरी आफैंले चलाएको पीडितहरुको भनाइ छ । तर, अहिले बैंकको ‘शाखारहित बैंकिङ सेवा’ कार्यालय बन्द भएको छ भने कर्मचारीहरु पनि फरार छन् ।

‘बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नारा रहेको एनआइसी एशिया बैंकबाट पनि केही वर्षअघि ग्राहकको लाखौं रुपैयाँ चोरी भयो । त्यो पनि कर्मचारीकै संलग्नतामा । काठमाडौं महानगरपालिका–१०, को कार्यालयबाट ग्राहकको साढे १२ लाख रुपैयाँ चोरी भएपछि बैंकका नगद संकलन प्रदीप खत्रीसहित सात जना समातिएका थिए ।  

सरकारी स्वामित्वकै कृषि विकास बैंकमासमेत कर्मचारीकै मिलेमतोमा बचतकर्ताको खाताबाट रकम चोरी गरिएको थुप्रै घटना छन् । कोर बैंकिङ्ग सिस्टम प्रयोग गरी निक्षेपकर्ताको चार करोड बढी रकम चोरी गरेको आरोपमा २०७६ असोजमा कृषि बैंकका कर्मचारीसहित एक दर्जन पक्राउ परेका थिए ।

तीन वर्षअघि मोरङको विराटनगर बस्ने मनोजकुमार जैसवालको पनि राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाताबाट डेढ लाख रुपैयाँ हरायो । खाताबाटै बचत गायब भएपछि उनी प्रहरी कहाँ पुगे । अनुसन्धानको क्रममा उनको खाताबाट विभिन्न बैंक र खल्ती सेवामा रकम ट्रान्सफर भएको पाइएको थियो । जबकी जैसवालले उक्त रकम ट्रान्सफर नै गरेका थिएनन् ।

सोही वर्ष प्रणयकुमार पोखरेलको विराटनगरस्थित एनआईसी एसिया बैंकको खातामा रहेको २९ हजार रुपैयाँ एकाएक गायब भयो । विद्युत प्राधिकरणका पूर्वकर्मचारी समेत रहेका उनको पेन्सनस्वरुप उक्त रकम खातामा जम्मा भएको थियो । तर, रकम चलाउन नपाउँदै उनको खाताबाट पैसा निकालिएको मेसेज आयो । त्यसपछि बैंक पुगेका उनको गुनासो सम्बोधन भएन । र, पोखरेल प्रहरी कहाँ पुगे । सो क्रममा उनको रकम नबिल बैंकमा ट्रान्सफर भएको भेटिएको थियो ।

यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । केही वर्षयता बैंकका उच्च पदस्थ कर्मचारीहरुकै संलग्नतामा ग्राहकको बैंक खाताको हस्ताक्षर किर्ते, पासवर्ड चोरी वा ह्याक गरेर रकम झिक्ने गरेको पाइएको छ । आफ्नो खातामा भएको पैसा कतिबेला गायब हुन्छ ग्राहकलाई थाहै हुँदैन । जब मोबाइलमा पैसा काटिएको मेसेज आउँछ अनि मात्र झस्किन्छन्, निक्षेपकर्ता ।

बैंकप्रतिको विश्वासनीयता खस्किँदो

बैंक तथा वित्तिय संस्थाका लागि ग्राहकको विश्वास नै सबैभन्दा महत्वपूर्ण हो । किनकि बैंकिङ प्रणाली ग्राहकको विश्वासनीयतामा चलेको हुन्छ । बैंक तथा वित्तिय संस्थामा सर्वसाधारणले पैसा जम्मा गर्नु भनेको त्यसको सुरक्षणको ग्यारेन्टी सम्बन्धित संस्थाले लिनु हो ।

तर, पछिल्लो समय खाताबाटै निक्षेपकर्ताको रकम चोरिन वा गायब हुन थालेपछि बैंकप्रति आम नागरिकको विश्वास गुम्दै गएको छ । अहिले बैंकमा सर्वसाधारणले राखेको पैसाको सुरक्षाबारे गम्भीर प्रश्न उठ्न थालेको छ । निक्षेपकर्ताको खाताबाट रकम चोरीका एकपछि अर्को घटनाले समग्र बैंकिङ क्षेत्रलाई नै तरंगित बनाएको छ ।
 
यता, नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल बैंकमा सर्वसाधारणको रकम पूर्ण सुरक्षित रहने भन्दै निक्षेपकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । उनी सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको नियमन गर्दै आएको दाबी गर्छन् ।

बैंकमा जम्मा गरेको रकम खाताबाटै हराएको पछिल्ला घटनाक्रमप्रति राष्ट्र बैंक गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै उनले प्रमाण भएमा जस्तोसुकै अवस्थामा समेत निक्षेपकर्ताको रकम फिर्ता र दोषीमाथि कारबाही हुने बताए ।

‘बैंकमा सर्वसाधारणले राख्नु भनेको सोको सुरक्षणको ग्यारेन्टी सम्बन्धित संस्थाले नै लिनु हो । त्यसैले, कुनै पनि व्यक्तिले रकम राखेपछि त्यसको सुरक्षा गर्नु बैंकको दायित्व हो । र, बचतकर्ताको रकम हिनामिना भएमा त्यसको जिम्मेवार पनि स्वंय संस्था नै हुनुपर्छ,’ प्रवक्ता पौडेलले भने ।

कर्मचारीद्वारा निक्षेपकर्ताको रकम हिनामिना भएको पुष्टि हुन आएमा त्यसको जिम्मेवार पनि स्वयम् संस्था नै हुने उनको तर्क छ । प्रवक्ता पौडेलले भने, ‘कर्मचारीले रकम हिनामिना गरेको हो भने, त्यसको जिम्मेवार भएमा सम्बन्धित बैंक, वित्तिय संस्था नै हुनुपर्छ ।’ 
 

टिप्पणीहरू