भारतीय विदेश सचिवको भेटघाट : लैनचौर हुँदै सिंहदरबार पुगेर खुमलटार
दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेका भारतीय विदेश सचिव विक्रम मिस्रीले अपराह्नदेखि उच्चस्तरीय भेटघाट शुरु गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उनले राष्ट्रपति, प्रधानमन्त्री परराष्ट्र सचिवलगायतसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । विदेश सचिव मिस्री नेतृत्वको भारतीय प्रतिनिधिमण्डलले दिउँसो पौने ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलसंग शीतल निवासमा भेटवार्ता गर्नेछ । त्यसअघि मध्याह्न १२ बजे लैनचौरस्थित दूतावासमा आयोजित छलफलमा भारतीय टोली सहभागी हुनेछ ।
राष्ट्रपति पौडेललाई भेटेर विदेश सचिव मिस्री साढे ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंहदरबार जाने तालिका छ । त्यसलगत्तै उनले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने छन् ।
साँझ ५ बजे बूढानिलकण्ठ पुगेर भारतीय टोलीले देउवासँग भेटवार्ता गर्नेछ । प्रचण्डलाई साँझ ६ बजे खुमलटारमा भेट्ने कार्यक्रम छ । राति साढे ७ बजे आफ्नो सम्मानमा नेपाली समकक्षी सेवा लम्सालले आयोजना गर्ने रात्रिभोजमा सामेल हुन मिस्री होटल याक एण्ड यती पुग्नेछन् ।
भोलि बिहान परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेर भारतीय प्रतिनिधिमण्डल साँझ नयाँ दिल्ली फर्किने तालिका रहेको छ । भारतीय वायुसेनाको उडान नम्बर Ifc-31 कल साइनयुक्त जहाजमा आज बिहान पौने १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको भ्रमण टोलीको मुकाम बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा रहेको छ । टोलीमा अनुराग श्रीवास्तव, प्रियंका सहनी र अश्विन भास्करण छन् ।
विमानस्थलबाट सोझै द्वारिकाज पुगेको भारतीय पाहुना टोली केहीबेर आराम गरेर सवा ११ बजे काठमाडौँ दरबार स्क्वायर पुगेको थियो । नेपाल भाषा परिषदको उद्घाटन कार्यक्रममा सहभागी हुन विदेश सचिव मिस्री त्यहाँ गएको बताइएको छ ।
टिप्पणीहरू