‘लाश बोकेर’ सहकारी पीडितहरु सडकमा
सहकारी पीडितहरुले नक्कली लाश बोकेर विरोध प्रदर्शन गरेका छन् । आर्थिक अभावका कारण अस्पतालमा उपचाररत एक सहकारी पीडितको निधनपछि पीडितहरु कफन बाँधेर सडकमा निस्किएका हुन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा भएको उक्त प्रदर्शनमा राष्ट्रिय मुक्ति क्रान्तिका अभियन्ता केशव झा, मुक्ति क्रान्ति नेवाः राष्ट्रिय परिषदका संयोजक सुमन सायमी, उपत्यका विशेष ब्यूरो संयोजक रविन्द्र कुमार श्रेष्ठसहित सयौँको उपस्थिति थियो । हातमा प्लेकार्ड लिएका प्रदर्शनकारीले कफन बाँधेर लाशको बाकस बोकेका थिए ।
शान्ति बाटिकादेखि भद्रकालीसम्म र्याली निकालेका प्रदर्शनकारीले त्यसक्रममा सरकारविरुद्ध चर्का नारा लगाए । उनीहरुले ‘सहकारी पीडित एक हौं’, ‘सहकारी मन्त्री राजीनामा दे’, ‘मृतकलाई न्याय दे’, ‘राजेन्द्र स्थापितको आत्मालाई शान्ति दे’, ‘सहकारी ठगहरु होशियार’, ‘दलाल सरकार राजीनामा दे’, ‘सहकारी मन्त्री बलराम अधिकारी मूर्दावाद’ लगायत चर्का नाराबाजी गरे ।
काठमाडौँका ६६ वर्षीय राजेन्द्र स्थापितको आज बिहान वीर अस्पतालमा मृत्यु भएको थियो । पारिवारिक स्रोतका अनुसार न्युरोडस्थित युवा विकास बहुउद्धेश्यीय सहकारीमा एक करोड ३३ लाख रुपैयाँ बचत गरेका उनको रकम अभावमा उपचार हुन नसकेकाले ज्यान गएको हो ।
सहकारीका सञ्चालक किसन राई बचतकर्ताको रकम अपचलन गरेर अहिले फरार छन् । सबै रकम सहकारीमा डुबेको र उपचारका लागि पाँच लाख पनि नहुँदा राजेन्द्रको ज्यान गएको सहकारी बचतकर्ता राष्ट्रिय अभियानले जनाएको छ ।
टिप्पणीहरू