शुल्क असुलीपछि टिभी च्यानल बन्द
नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले विदेशी स–शुल्क च्यानलहरु बन्द भएकोमा गम्भीर ध्यानाकर्षण जनाएको छ । महासचिव मनोज गुरुङले सूचना तथा प्रशारण विभागका महानिर्देशकलाई पत्र पठाउँदै आम उपभोक्ताले अग्रिम शुल्क बुझाइसकेको अवस्थामा समेत विदेशी स–शुल्क च्यानलहरु बन्द भएको भन्दै विरोध जनाएका छन् ।
‘नेपालको संविधानले समेत मौलिक हकको रुपमा अंगिकार गरेको उपभोक्ताको हक (धारा ४४) नै हनन गर्ने गरी एवम् अत्यावश्यक सेवाको रुपमा सरकारले अंगिकार गरेको टेलिभिजन प्रशारण सेवालाई नै पूर्ण रुपमा बन्द गराउने गरी विदेशी स–शुल्क च्यानल प्रदायकहरुले गरेको गैरसंवैधानिक, गैरकानूनी एवम् गैरव्यवसायिक कार्यलाई नियामक निकायले टुलुटुलु हेरी बस्नु लज्जास्पदको विषय बनेको छ,’ पत्रमा उल्लेख छ ।
नेपालमा कुनैपनि विदेशीले व्यापार व्यवसाय गर्दा यहाँको कानून अनिवार्य रुपमा पालना गर्नैपर्ने भएपनि सरकारले २०७९ फागुल्न १५ गतेदेखि टेलिभिजन प्रशारणमा आलाकार्ट शुल्क प्रणाली लागू गरिसक्दा समेत विदेशी स–शुल्क च्यानल प्रदायक तथा नेपालका प्रशारक संस्थाहरुले कार्यान्वयनमा चासो नदेखाएको महासंघको ठहर छ ।
‘सरकारलाई जसरी पनि घुँडा टेकाउने तथा नेपालमा लागू भएको आलाकार्ट प्रणाली असफल बनाउने कुनियत राखी विदेशी स–शुल्क च्यानल प्रदायकहरु एक आपसमा मिलेमतो गरी एकै पटक नेपालमा प्रशारण भैरहेको भारतीय स–शुल्क च्यानलहरु पूर्ण रुपमा बन्द गरेको र सोपश्चात् उक्त भारतीय स–शुल्क च्यानलहरु नेपालमा पाइरेसी भएको भन्दै नियामक निकायहरुलगायत नेपाल सरकार परराष्ट्र मन्त्रालय एंव नेपालस्थित भारतीय राजदूतावास तथा भारतस्थित नेपाली राजदूतावासमा समेत इमेल तथा पत्राचार पठाएको जानकारीमा आएको छ,’ महासंघले भनेको छ ।
महासंघले ती च्यानलहरु विदेशी प्रदायक आफैंले नेपालमा वर्षौंदेखि इन्टरनेट तथा डिटिएचको माध्यमबाट नेपालमा पहुँच पुप्याई गैरकानूनी रुपमा प्रशारण गरी वर्षेनी अर्बौ रुपैयाँ लग्ने गरेको र यसबारे पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत त्यस्ता प्रशारण बन्द नहुँदा नेपालमा सञ्चालित सेवा प्रदायकहरु टाट पल्टिने अवस्था सिर्जना भएको समेत बताएको छ ।
गैरकानूनी विदेशी ओटीटी एप तथा भारतीय डिटीएच नेपालमा पूर्ण रुपमा बन्द गराई विदेशी नियोगको दबाबमा नपरी कानूनबमोजिम सञ्चालित नेपाली प्रशारक संस्थाहरुको हकहितमा हुने निर्णय गर्न महासंघको माग छ । नेपालमा प्रशारण हुँदै आएको भारतीय च्यानलहरुको गत साउन १७ गतेदेखि प्रशारण रोकिएको छ । सरकारले लागू गरेको आलाकार्ट प्रणाली कार्यान्वयन गर्न आनाकानी गर्दै विदेशी प्रशारक संस्थाहरुले नै च्यानल बन्द गरिदिएका हुन् ।
टिप्पणीहरू