प्रेस युनियन सदस्यता बढाउने अभियानमा
नेपाल प्रेस युनियनले ‘पत्रकारसँग प्रेस युनियन’ अभियान सञ्चालन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न युनियनको केन्द्रीय कार्यसम्पादनको बैठकले केन्द्रीय विभाग, प्रदेश समिति र युनियनका शाखाहरुलाई परिचालन गरेर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
युनियनको सांगठनिक गतिविधि बढाउँदै संगठनलाई चलायमान बनाई नयाँ पत्रकारलाई आबद्ध गराउने उद्देश्यले अभियान थालिएको महासचिव दिलिप पौडेलले बताए । त्यस्तै, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न, पत्रकारलाई नियमित पारिश्रमिक र कानुनमा भएको व्यवस्थाअनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए ।
लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन, सुविधा वृद्धि गर्न, अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।
‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियमित पारिश्रमिकको भुक्तानी, पेशागत सुरक्षा तथा आर्थिक, सामाजिक सुरक्षाका विषयमा नेपाल प्रेस युनियन गम्भीर र चिन्तित छ’, आज प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र कानुनमा भएको व्यवस्थाअनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने ।’
प्रेस काउन्सिलले सार्वजनिक गरेको पत्रपत्रिकाको मूल्याङ्कन न्यायोचित नभएको र विभेदपूर्ण रहेको उसको ठहर छ । युनियनले वर्गीकरणमा भएको त्रुटि सच्चाउन आग्रह गर्ने भएको छ । त्यसैगरी, सदस्यतासम्बन्धी विवाद टुंग्याएर निर्वाचनको सुनिश्चित गर्न युनियनले माग गरेको छ ।
टिप्पणीहरू