नागरिक उड्डयन प्राधिकरणको समाचार प्रकाशनपछि पत्रकारलाई ज्यान मार्ने धम्की

नागरिक उड्डयन प्राधिकरणको समाचार प्रकाशनपछि पत्रकारलाई ज्यान मार्ने धम्की
सुन्नुहोस्

प्रकाशित समाचारबारे पत्रकारलाई ज्यान मार्ने धम्की दिएकोमा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल ग्राउण्ड जिरो डटकममा कार्यरत सुभक महतोलाई अज्ञात व्यक्तिले फोनमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको महासंघले जनाएको छ । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको अनियमितताबारे समाचार लेखेपछि यस किसिमको धम्की दिइएको जारी विज्ञप्तिमा उल्लेख छ । 

‘पत्रकार महतोले महासंघमा दिनुभएको निवेदनअनुसार २०८१ साउन २६ गते शनिबार बिहान १०ः४९ बजे र आइतबार बिहान ११ः०१ बजे १ (६७८) ५२३–६५६९ नम्बरको ह्वाट्सएपबाट फोन गरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल नागरिक उड्डयन प्राधिकरणका बारेमा समाचार नलेख्न दबाब दिँदै स्तरहीन गालीगलौज गर्दै आफु र आफ्ना परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको जनाइएको छ,’ महासंघले भनेको छ । 

समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानूनी उपचारमा जान सकिने अथवा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रावधान हुँदाहुँदै पनि पत्रकार र उसका परिवार समेतलाई भौतिक कारबाहीको धम्की दिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती रहेको महासंघको ठहर छ । 

प्रेस स्वतन्त्रता विरोधी यस किसिमका त्रसित र आतंकित धम्की दिनेको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन माग गर्दै महासंघले पत्रकारलाई सुरक्षित र निर्भिक रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

टिप्पणीहरू