राजधानीकाे सडकमा मेला, रक्सीको फेला

राजधानीकाे सडकमा मेला, रक्सीको फेला
सुन्नुहोस्

नेपालीमा एउटा भनाइ छ,‘कहीँ नभएको जात्रा हाँडीगाउँमा ।’ यो भनाइ र काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिको काम उस्तै देखिन्छ । जनप्रतिनिधिले हचुवाको भरमा निर्णय गर्दा हरेक शनिबार हाँडीगाउँमा घरेलु मदिराको जात्रा लाग्न थालेको छ । वातावरण तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रत्येक शनिबार त्यहाँ सवारी साधन आवतजावत निषेध गरिन्छ । 

गत असोज ५ गतेदेखि उक्त व्यवस्था लागु गरिएको हो । खुल्ला ठाउँ र खेल मैदानको अभावका कारण बालबालिकाको समस्या समाधान गर्न उक्त निर्णय सहयोगी हुने महानगरको भनाइ छ । शनिवार हाँडीगाउँमा सानो मेला पनि लाग्ने गरेको छ । तर,उक्त निर्णयले विकृति निम्त्याएको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।

हाँडीगाउँमा सवारी रोक्ने महानगरको निर्णय कानुनसम्मत छ कि छैन ? यसको मूल्याङ्कन विज्ञहरुबाटै होला । तर,बिहानैदेखि आधा रातसम्म सवारी साधन बन्द गरेर सडकभर घरेलु मदिरा बेच्ने इजाजत कानुनले पक्कै पनि दिँदैन । त्रिशुली नदीमा बाढी आएझैं हाँडीगाउँमा शनिबार बिहानैदेखि जाँडरक्सीको बाढी आउने भएकाले फल्चामा बसेर लोकल मदिरा सेवन गर्नेको भीड लाग्ने गरेको छ ।

सडकमा दिउँसै जाँड बेच्दा पनि मुश्किलले एक किलोमीटर पर रहेको प्रहरी हेडक्वार्टर रमिते बनेको गुनासो छ । यता, नगरप्रमुख बालेन साह, उपप्रमुख सुनिता डंगोल र ५ नम्बर वडाका वडाध्यक्ष वीरेन्द्र प्रजापति स्वयम् उपस्थित भएर उक्त कार्यलाई प्रोत्साहन गरेको आरोप छ । बालबालिका खेल्ने ठाउँमा खुल्लमखुल्ला जाँडको बिक्री तथा सेवनले उनीहरुको मस्तिष्कमा कस्तो प्रभाव पर्ला ? सरोकारवालाले ध्यान दिएको देखिँदैन । 

बिहानैदेखि आधा रातसम्म सवारी साधन बन्द गरेर सडकभर घरेलु मदिरा बेच्ने इजाजत कानुनले पक्कै पनि दिँदैन । त्रिशुली नदीमा बाढी आएझैं हाँडीगाउँमा शनिबार बिहानैदेखि जाँडरक्सीको बाढी आउने भएकाले फल्चामा बसेर लोकल मदिरा सेवन गर्नेको भीड लाग्ने गरेको छ ।

जताततै फोहोर र चुरोटको ठुटाले सांस्कृतिक सम्पदा दुर्गन्धित बनेको छ । गीत पनि त्यस्तै किसिमको बजाउने गरिन्छ । शनिबार त्यहाँ दिनभर ‘एला त्वनेउला’ भन्ने गीत बजाइन्छ । समाजलाई अनुशासित राख्नेतर्फ भन्दा पनि स्थानीय पैसा कमाउनमा बढी केन्द्रित भएको गुनासो छ । तर, त्यसले भविष्यमा पार्ने असरबारे उनीहरुले ख्याल गरेका छैनन् ।

यसबाट मदिरा सेवन गर्न बालबालिकाहरुलाई प्रोत्साहन मिलेको स्थानीयको अनुभव छ । वातावरण र सांस्कृतिक सम्पदाको संरक्षणभन्दा पनि घरेलु रक्सी र जाँडको बिक्रीका लागि सवारी साधन रोकिएकोजस्तो देखिएको भन्दै महानगरको आलोचना गरिएको छ । हालको गतिविधिले हाँडीगाउँको ऐतिहासिक महत्वलाई घटाउँदै जाँडरक्सीको गाउँमा परिणत गर्न लागिएको कतिपयको बुझाइ छ । 

वडाध्यक्ष तथा सदस्यहरुले यस विषयमा समयमा नै सावधानी अपनाउनु उपयुक्त हुने देखिन्छ । ‘गैरकानुनी तवरले आर्जित धन कुनै पनि हालतमा टिक्दैन र त्यसले सन्ततिलाई पनि भलो हुँदैन,’ नेपालीमा एउटा मान्यता छ ।

अर्कोतर्फ जिल्ला प्रशासन कार्यालयको अगुवाईमा ठूलो परिमाणमा घरेलु मदिरा बरामद र नष्ट गरिएका समाचारहरु सार्वजनिक भइरहेका छन् । यस्तोमा प्रहरी हेडक्वार्टर नजिकै लोकल जाँडरक्सीको खुल्लमखुल्ला बिक्री हुँदा प्रहरी प्रशासन मौन छ । मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको सरकारी निवास पनि हाँडीगाउँबाट मुश्किलले एक किलोमीटरको दूरीमा छ ।

समाज,जनता र राष्ट्रलाई ‘अल्कोहलिक’ बनाउनु कुनै पनि दृष्टिकोणबाट राम्रो होइन । मुलुकका विभिन्न जिल्लालाई मदिरा निषेधित इलाका घोषित गरी सभ्य,शान्त र सुन्दर समाजको स्थापना गरिरहँदा हाँडीगाउँमा भइरहेको यो कार्यले नकारात्मक असरबाहेक केही नपार्ने धेरैको बुझाई छ । यसमा पाँच मीनेटको दूरीमा भएको प्रधानमन्त्री निवासका ब्राम्हण प्रधानमन्त्रीको पनि विशेष ध्यान जान जरुरी छ ।
 

टिप्पणीहरू