महानगरको कार्यक्रममा दूषित पानी, किम्ची रेष्टुरेन्टलाई दुई लाख जरिवाना

महानगरको कार्यक्रममा दूषित पानी, किम्ची रेष्टुरेन्टलाई दुई लाख जरिवाना
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेस्टुरेन्ट एण्ड फास्ट फुडलाई कारबाही गरेको छ । पानीमा कीरा भेटिएपछि महानगरले रेस्टुरेन्टलाई कारबाहीस्वरुप दुई लाख रुपैयाँ जरिवाना तिराएको जनाएको छ । 

रेस्टुरेन्टको हलमा महानगरले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्ताका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । 

सो क्रममा वडा नम्बर ११ की सदस्य यथोमती परियारले सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन लाग्दा पानीमा कीरा सल्बल्याएको देखिन् । उनले लगत्तै उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइन् । 

त्यसपछि अनुगमन समितिकी संयोजकसमेत रहेकी डंगोलले दूषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिँदै कार्यक्रम स्थगित गरिन् । ‘पानीजन्य संक्रमणका जोखिम रहेको अवस्थामा सिल बोतलभित्रै अखाद्य वस्तु देखिनु चरम लापरबाही हो,’ उनले भनिन्, ‘महानगरले खानेकुरा तथा पिउने पानीको स्वच्छतामा लापरबाही नगर्न व्यवसायीहरुलाई अनुरोध गर्दै आएको छ । तर, अटेर गर्नेहरुलाई कानूनी कारबाही गर्नुको विकल्प छैन ।’

सोहीअनुरुप महानगरले दूषित पानी बिक्री गर्ने किम्ची रेस्टुरेन्टलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको हो । रेस्टुरेन्टमा बिक्री भइरहेको पानी टोखा नगरपालिका–८, मा उत्पादित सिटी मिनरल वाटर एण्ड वेभरेज प्रालिले उत्पादन गरेको ‘इको’ ब्राण्डको हो ।

टिप्पणीहरू