हिमालयको नयाँ गन्तव्य, भदौदेखि काठमाडौँ–कुवेत–काठमाडौँ उडान
हिमालय एअरलाइन्सले काठमाडौंबाट कुवेतमा सोझो उडान पुनः थाल्ने भएको छ । एअरलाइन्सले कुवेतमा रहेका नेपालीहरुको अत्यधिक मागलाई सम्बोधन गर्दै काठमाडौँ–कुवेत–काठमाडौँ उडान सञ्चालन गर्न लागेको जनाएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपालीको संख्या निकै छ । एअरलाइन्सका अनुसार आगामी भदौ ४ गतेदेखि उडान हुनेछ । यसले दुई देशबीच नागरिकस्तरको सम्बन्धलाई थप कसिलो बनाउँदै पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने एअरलाइन्सको विश्वास छ ।
हिमालयले आफ्नो सेवालाई अझ सुदृढ बनाउन कुवेतका लागि जनरल सेल्स एजेन्ट पाटर्नरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेको छ । काठमाडौँ–कुवेत–काठमाडौँ सातामा एक उडान हुने छ । मागअनुसार उडान थप हुनसक्ने जनाइएको छ ।
भदौ ४ गतेदेखि काठमाडौँबाट स्थानीय समयअनुसार राति १२ बजेर ४० मिनेटमा उडान हुनेछ । बिहान ३ बजेर १५ मिनेतमा कुवेत अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने र उताबाट स्थानीय समय बिहान ४ बजेर १५ मिनेटमा उडान भरेको विमान बिहान ११ बजेर ५० मिनेटमा काठमाडौँमा अवतरण गर्ने छ ।
एअरलाइन्सले कुवेतका लागि टिकट बुकिङ खुला गरिसकेको जानकारी दिएको छ ।
टिप्पणीहरू