आफैँले बढाएको खानेपानी शुल्क फिर्ता लिन धरानका मेयर बाध्य

आफैँले बढाएको खानेपानी शुल्क फिर्ता लिन धरानका मेयर बाध्य

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई आन्दोलनरत स्थानीयसँग सहमति गर्न बाध्य भएका छन् । खानेपानीको शुल्क र महसुल बढाइएपछि आन्दोलन चर्केको थियो । सोही आन्दोलन मत्थर पार्न विभिन्न १० राजनीतिक दल र साम्पाङबीच तीन बुँदे सहमति भएको हो । 

विभिन्न राजनीतिक दलले धरान खानेपानी व्यवस्थापन बोर्डलाई शुल्क घटाउन ७२ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका थिए । तर, अल्टिमेटमको सुनुवाई नभएको जनाउँदै उनीहरुले बिहीबारदेखि उपमहानगरपालिका बाहिर आन्दोलन गरेका हुन् । खानेपानीको महशुलमा झण्डै १० हजार प्रतिशत वृद्धि गरिएपछि स्थानीय क्रुद्ध भएका थिए ।

सहमतिमा खानेपानी महशुल वृद्धि नगर्ने, खानेपानी बोर्डको पूर्णताको निम्ति उच्च अदालतको फैसला मान्दै सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने उल्लेख छ । 

हिजो दिउँसो साढे २ बजेदेखि सुरु भएको वार्तामा खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष तथा नगरप्रमुख हर्क साम्पाङ, उपप्रमुख अइन्द्रविक्रम बेघा, वडा नम्बर १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई, नेपाली कांग्रेसका श्याम पोखरेल, एमालेका हर्कजंग एभेङ, माओवादीका चोत्लुङ, जसपाका सुमन चेम्जोङ, एकीकृत समाजवादीका रेवती रमण राई, रास्वपाका ठाकुरबहादुर कार्की सहभागी थिए । यस्तै नागरिक उन्मुक्ति पार्टीका अमर इजम, संघीय लिम्बुवानका मोहनकुमार तिगेला, राष्ट्रिय साझा पार्टीका भूपी कोयुले पनि सहमतिमा हस्ताक्षर  गरेका छन् ।
 

टिप्पणीहरू