रोल्पामा न्याय र परिपूरणको चर्चा

रोल्पामा न्याय र परिपूरणको चर्चा
सुन्नुहोस्

रोल्पाको सदरमुकाम लिवाङमा न्याय र परिपूरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । नेपाल पिस विल्डिङ इनिसियटिभको आयोजनामा अन्तरक्रिया गरिएको हो । 

सो क्रममा सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले द्धन्द्ध पीडितका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । द्धन्द्धमा ज्यान गुमाएका पालिकाभित्रका २०५ मृतकका १९९ घरधुरीलाई स्वास्थ्य बीमा आबद्ध गराएको उनले जानकारी दिए । 

‘दोस्रो स्थानीय तहको निर्वाचनपछि द्धन्द्धमा ज्यान गुमाएका २०५ मृतकका १९९ घरधुरीलाई स्वास्थ्य बीमामा आबद्ध गरेका छौं । पहिलो वर्ष स्वास्थ्य बीमा गर्दा प्रति परिवार तीन हजार ५०० को दरले करिब सात लाख खर्च भयो । सबैलाई बीमा कार्यक्रममा आबद्ध गराउन बजेट विनियोजन गरेपनि कमै मात्र इच्छुक देखिनुभएको छ’,उनले भने । 

अध्यक्ष पुनमगरले द्धन्द्ध पीडितलक्षित अन्य काम पनि भइरहेको बताए । उनका अनुसार द्धन्द्ध पीडितका लागि पालिकास्तरीय साझा चौतारी निर्माणका साथै सीपमूलक तालिम सञ्चालनका निम्ति करिब १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कार्यक्रममा बोल्दै द्धन्द्ध पीडित श्रीकुमारी घर्तीमगरले पालिकाले द्धन्द्ध पीडितका लागि छुट्याउने बजेट निकै न्यून भएको गुनासो पोखिन् । 

सो बजेट पनि वास्तविक द्धन्द्ध पीडितले नपाएको उनको भनाइ छ । साथै, उनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा द्धन्द्ध पीडितलाई सहयोग गर्न आग्रह गरिन् । द्धन्द्धका घाइते मौसम रोकामगरले आफूले भोगिरहेको पीडादायी जीवनको अनुभव सुनाए । 

उनले भने,‘सशस्त्र द्धन्द्धका घाइतेहरुले निकै पीडादायी जीवन निर्वाह गरिरहेका छन् । घाइते शरीरहरु गोली बोकेर हिँड्न बाध्य छ । सरकारले हामीहरुका लागि विशेष कार्यक्रम ल्याउनुपर्छ ।’

नेपाल पत्रकार महासंघ, रोल्पाका निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संवेदनशील नदेखिएको आरोप लगाए । प्रधानमन्त्रीको व्यवहार शान्ति प्रक्रिया भाँड्ने दिशातर्फ उन्मुख रहेको उनको जिकिर छ ।

इनिसियटिभका संस्थापक कार्यकारी निर्देशक सुविन्द्र बोगटीले सहजीकरण गरेको कार्यक्रममा सोही संस्थाको कानुन र कार्यक्रम अधिकृत स्मृति काफ्लेले न्याय र परिपूरणको हालको अवस्थाको बारेमा प्रस्तुतिकरण दिएकी थिइन् । कार्यक्रममा द्धन्द्ध पीडित, पत्रकार र स्थानीय तहका प्रतिनिधिलगायतको सहभागिता थियो ।

टिप्पणीहरू