दमकलाई व्यवस्थित गर्न डेढ दर्जन निर्णय, अटेर गरे कारबाही

दमकलाई व्यवस्थित गर्न डेढ दर्जन निर्णय, अटेर गरे कारबाही
सुन्नुहोस्

झापाको दमक नगरपालिकामा तोकिएको स्थानबाहेक अन्य स्थानमा हाटबजार राख्न नपाइने भएको छ । 

शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन नगरपालिकाले डेढ दर्जन निर्णय गर्दै सडक, सडकपेटी, चौतारालगायतका सार्वजनिक स्थानमा हाटबजार लगाउन नपाइने जनाएको छ । त्यस्तै, दमकबासीले अब आफ्नो घर वा व्यवसायबाट निस्किने फोहोर वर्गीकरण गर्नुपर्ने भएको छ । 

हरेक घरअगाडि अनिवार्य दुई वटा विरुवा रोप्नुपर्ने नगरपालिकाको भनाइ छ । सार्वजनिक खोलाखोल्सी, नदीनालामा शौचालयको ढल मिसाउन तथा अन्य फोहोर फाल्न रोक लगाइएको छ । 

नगरपालिकाका अनुसार घर बनाउँदा अनिवार्य सेफ्टी ट्याङ्की वा सोक पिटको निर्माण गर्नुपर्नेछ । घरको छतको पानी सिँधै सडक वा सडकपेटीमा खसाल्न नपाइने, निर्माण सामग्री सडकमा राख्न नपाइने नगरपालिकाले स्पष्ट पारेको छ । 

घर निर्माणपश्चात निस्किने फोहोरको व्यवस्थापन स्वयम् घरधनीले गर्नुपर्नेछ । विवाह, पुराण तथा अन्य कार्यक्रम गर्दा ध्वनि प्रदूषण हुने कार्य गर्न नपाइने निर्णयमा भनिएको छ । त्यस्तै, तोकिएको क्षेत्रभन्दा बाहिर निर्माण गरिएको संरचना हटाउन निर्देशन दिइएको छ । 

घरपालुवा जनावरलाई सार्वजनिक स्थानमा छाडा छोड्न, सडकपेटी नजिकै मासु पसल सञ्चालन गर्न, दमक बजार क्षेत्रभित्र बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 

निर्णय कार्यान्वयनका लागि अनुगमन गर्ने नगरपालिकाले बताएको छ । साथै, निर्णयविपरीतको कार्य गर्नेलाई नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७६ मा उल्लेखित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

टिप्पणीहरू