नेल लगाएर सडकमा उत्रिएका खगेन्द्र प्रहरी नियन्त्रणमा

नेल लगाएर सडकमा उत्रिएका खगेन्द्र प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

संघ र प्रदेश सरकारमा दलित समुदायको प्रतिनिधित्व नगराएको विरोधमा एक सातादेखि माइतीघर मण्डलामा आन्दोलनरत 'दलितका लागि दलित अभियान'का संयोजक खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खगेन्द्रलाई प्रहरी वृत्त, बानेश्वर लगिएको उनको सचिवालयका कर्मचारी रेन विकले बताए । 

‘उहाँ संसद् भवनअगाडि प्रदर्शन गर्दै हुनुहुन्थ्यो । सोही क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँ अहिले प्रहरी वृत्त, बानेश्वरमा हुनुहुन्छ’, उनले भने । 

आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने विकको भनाइ छ । भन्छन्,‘हाम्रो माग सामान्य छ । संविधानले दिन्छु भनेको अधिकार हामीलाई चाहियो । संघ होस् या प्रदेश, सरकार निर्माणमा दलित समुदायलाई बेवास्ता गरिएको छ । संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित नभएसम्म हामी आन्दोलन जारी राख्छौं ।’ 

गोडामा कैदीलाई लगाइने नेल र शरीरमा साङ्ग्लो बाँधेर खगेन्द्र गत साउन २३ गतेदेखि प्रदर्शनरत छन् ।

टिप्पणीहरू