एनजीओको अध्यक्षमा श्रीमान, श्रीमतीको नाममा संस्थाको घरजग्गा
-नमस्कार शाह
सरकारले गैरसरकारी संस्थाहरुको सम्पत्ति बेचबिखनमा रोक लगाएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले त्यस्ता संस्थाहरुको सम्पत्ति विवरण संकलनका लागि गठित समितिमार्फत् बेचबिखनमा रोक लगाउन गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
गृहले त्यस्ता संस्थाहरुलाई सम्पत्ति बिक्रीमा रोक लगाएको लामो समय बितिसक्दासमेत सम्पत्ति विवरण यकिन भएको छैन । पहिलेको निर्णयमा कुनै परिवर्तन पनि गरिएको छैन । तर बाँकेको एउटा सहकारी संस्थामा उक्त सरकारी निर्णय लागु भएको पाईंदैन । संस्थाका अध्यक्षले करोडौं पर्ने संस्थाको घरजग्गा श्रीमतीको नाममा पास गरिदिएका छन् ।
सोसल अवेरनेस फर एजुकेसनल (सेफ) बाँकेका बादी समुदायका लागि काम गर्दै आएको संस्था हो । संस्थाका पूर्व अध्यक्ष शुकलाल नेपाली (बादी) ले नेपालगञ्ज–६, एकतानगरस्थित चार करोड बढी मूल्य पर्ने कार्यालय भवनसहितको जग्गा कागजमा श्रीमतीलाई बिक्री गरेको देखाएका हुन् ।
पूर्वअध्यक्ष बादीले आफू अध्यक्ष रहँदा संस्थाको नाममा रहेको चार करोडभन्दा बढी मूल्यको चार कठ्ठा जमिन र त्यसमा बनेको १४ कोठे दुईतले पक्की घर श्रीमती रिना बादीका नाममा पास गरिदिएको कागजात प्राप्त भएको छ । बाँकेको पूराना गैससहरुमध्येको एक सेफका संस्थापक अध्यक्ष दिलिप परियारलाई पाखा लगाई शुकलालले एक दशक बढि समय एकछत्र राज गरेका थिए ।
प्लान, सेभ द चिल्ड्रेन लगायतका वैदेशिक संस्थाहरुको करोडौं सहयोग भ्रष्टाचार गरेर संस्थालाई नै बदनाम गराई विभिन्न मुद्दा, मामिलामा फसेका शुकलाल संस्था बन्द भएको दशकपछि नवीकरण गरेर पुनः आफु अध्यक्ष भएका हुन् । त्यसपछि जग्गा र कार्यालय भवन उनले मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा श्रीमतीको नाममा पास गरिदिएका थिए ।
स्रोतका अनुसार, श्रीमतीले एनआईसी एसिया बैंकको कम्दी शाखामा धितो राखेर ‘जैविकमार्ग सप्लायर्स’ नामक संस्थाको नाममा एक करोड ५० लाख रुपैयाँ एनआईसी एसिया फास्ट ट्रयाक व्यवसाय कर्जा लिएको देखिन्छ । शुकलालले २०७५ असार २१ मा नेपालगन्ज–७ फुल्टेक्राको एकतानगरमा रहेको ११ ‘क’ कि.नं. १३०२ को ४ कठ्ठा जग्गा २७ लाख रुपैयाँमा बिक्री गरेको देखाइएको छ ।
सेफ नेपालको हालका अध्यक्ष अभिषेक नेपालीले पदभार ग्रहण गरेको लामो समय बित्दा पनि जग्गा र घरको लालपूर्जा नभेटेको बताए । उनले भने, ‘यसबारे पटक–पटक पूर्वअध्यक्ष शुकलालसँग सोध्दा, बुझ्दा उनले आनाकानी गरेपछि शंका लागेर खोजतलास गर्दा संस्थाको भवन र जग्गा अनियमित तवरले नामासारी गरेको पाइयो ।’ मालपोतमा बुझ्दा बर्दियाको पाताभार–२ की ४६ वर्षीया रिना बादीलाई राजीनामा गरिदिएको राजीनामा पत्र फेला परेपछि उक्त अनियमितता र भ्रष्टाचारको पोल खुलेको हो ।
२७ लाख रुपैयाँमा संस्थाको उक्त जग्गा बिक्री गरिएको देखिए पनि रकम संस्थाको खाता वा अन्य कुनै ठाउँमा जम्मा नभएको अध्यक्ष अभिषेक नेपालीले बताए । संस्थाको घरजग्गा मालपोत कार्यालय नेपालगञ्जमा २०७५ असार २१ मा जग्गाको राजीनामा रजिस्ट्रेसन भएको देखिन्छ । रजिस्ट्रेसनमा संस्थाको चलानी नम्बर ९३ अनुसार संस्थाका प्रतिनिधिको रुपमा शुकलाल नेपाली खटिएको पाइएको छ ।
२७ लाख रुपैयाँमा किनबेच गर्ने २०७५ जेठ २ को संस्थाको माइन्युट, चलानी नं ११८४२, २०७४ वैशाख २० मा करचुक्ता तथा २०७५ वैशाख १६ मा २०७४÷७५ सालको तिरो तिरेको रसिद नम्बर ९१५६ उल्लेख छ । साक्षीमा सुर्खेतको छिन्चु–७ बस्ने जिउली बादी, नेपालगन्ज–१३ का हेमन्त सिंह साउँद र नेपालगन्ज–५ का हेमबहादुर रावत राखिएको छ ।
उक्त जग्गामा घर तथा बाटो नभएको व्यहोरा रजिस्ट्रेसनका लागि सिफारिस गरिदिएको पाइएको छ । जबकी जग्गामा दुईतले भवन पहिले नै निर्माण भएको थियो भने बाटो पनि देखिन्छ । २०७५ जेठ २ मा बसेको संस्थाको बैठकबाट जग्गा बिक्री गर्ने निर्णय भएको माइन्युटमा उल्लेख छ ।
उक्त निर्णयमा पनि अधिकांशको कीर्ते हस्ताक्षर रहेको बताउँदै अध्यक्ष नेपाली भन्छन्, ‘संस्थाको नाममा रहेको घरजग्गा व्यक्तिका नाममा मालपोतले कसरी नामसारी गर्यो, बैंकले कुन आधारमा ऋण दियो ? वडाले कसरी सिफारिस गर्यो भन्ने विषयमा हामी अचम्मित छौं, कानुनी कारबाहीको प्रक्रियामा अघि बढेका छौं ।’
अध्यक्ष नेपालीले संस्थाको जग्गा कीर्ते हस्ताक्षर गरेर श्रीमतीको नाममा बिक्री गर्ने शुकलालमाथि छानबिन गरी कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा हिजो ठगी मुद्दा दर्ता गराएका छन् । उनले सामाजिक संस्थाको सम्पत्ति कसैले पनि हिनामिना गर्न नपाउने बताउँदै यसबारे कानुनी लडाईं लड्ने उद्घोष गरे ।
टिप्पणीहरू