संसदमा छलफल,सर्वोच्चमा मुद्दा बारे पत्रकारसङ्ग हारगुहार

संसदमा छलफल,सर्वोच्चमा मुद्दा बारे पत्रकारसङ्ग हारगुहार

प्रतिनिधिसभाको बैठकमा आज टेबुल हुन लागेको संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) विरुद्ध सर्वोच्च रिट परेको छ । विधेयक संशोधनको नाममा पीडकलाई उन्मुक्ति दिने र पीडितलाई झन् पीडित बनाउने तरिकाले अघि बढाइएको भन्दै श्यामकृष्ण मास्केसहितका अधिवक्ताहरुले हिजो रिट दायर गरेका थिए । 

विधेयक संशोधनमा उल्लेखित कतिपय बुँदाहरु नेपालको संविधान र अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरित भएको रिटकर्ताको दाबी छ । यता सर्वोच्च अदालत प्रशासनले हिजो हालिएको रिट निवेदन दर्ता प्रक्रियामा रहेको र रिट दर्ता वा दरपीठबारे आवश्यक अध्ययनपछि आज निर्णय गरिने जनाएको छ ।

आजै दिउँंसो १ बजे निवेदक पक्षले सर्वोच्च अदालत परिसरमा प्रेस मिट राखेको छ । अधिवक्ता मास्केले यता रिट दर्ताको प्रक्रियासँगै पत्रकार सम्मेलन गर्न खोजे पनि  प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून,न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसपछि सांसदहरुले विधेयकमाथि छलफल गर्नेछन् ।

२०७९ फागुन २५ मा प्रतिनिधिसभामा दर्ता भएर झण्डै १७ महिनादेखि अलपत्र विधेयकमा संशोधन सहजीकरणको लागि अघिल्लो सरकारले तीन सदस्यीय कार्यदल बनाएको थियो । जसमा, नेपाली काँग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य थिए ।

टिप्पणीहरू