सिपाहीको जाँचमा जालझेल गर्नेहरु लोकसेवाको फेला
नेपाल प्रहरीको जवान पदमा लोकसेवा आयोगद्धारा लिइएको लिखित परीक्षामा अनियमितता गर्ने एक दर्जन बढी परीक्षार्थी निलम्बनमा परेका छन् ।
सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाअन्तर्गत परीक्षा सञ्चालन शाखाले १४ जना परीक्षार्थीको परीक्षा रद्द गरेको हो । परीक्षामा अनियमित कार्य गर्ने उनीहरुलाई एक वर्षदेखि तीन वर्षसम्म आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन नदिने निर्णय पनि भएको छ ।
दैलेखका दिनेशकुमार थापाले आफ्नो ठाउँमा नक्कली परीक्षार्थीलाई परीक्षा दिन पठाएको पाइएको शाखाको भनाइ छ । त्यस्तै, प्रश्नपत्र लिएर गएर पुनः उपस्थित भई फिर्ता गर्ने डडेल्धुराका रमेश चुनारा पनि कारबाहीमा परेका छन् । अछामका चेतराज न्यौपानेले मोबाइलबाट प्रश्नपत्रको फोटो खिचेर आफ्नो दाजु नरेश न्यौपानेलाई पठाएको पाइएको हो ।
बझाङकी पार्वती जोशीले पनि प्रश्नपत्रको फोटो खिचेर दाजु वसन्त जोशीलाई पठाएको खुलेको हो । बाराका अवधेशकुमार यादव मोबाइलमा हेरेर उत्तर लेखिरहेको अवस्थामा भेटिएका थिए । सप्तरीका जितेन्द्रदास ताती, सर्लाहीका सुजित चौधरी र नविनकुमार साह फिर्ता गर्नुपर्ने प्रश्नपत्र सँगै लिएर गएका हुन् ।
सुर्खेतका प्रदिप बस्यालको ठाउँमा दिनेश चन्द भन्ने व्यक्तिले परीक्षा दिएको पाइएपछि तीन वर्षका लागि निलम्बन गरिएको छ । सुर्खेतकै रोशन खत्रीको नाममा पारस बुढा परीक्षा दिँदै गर्दा समातिएका थिए । दार्चुलाका सविर महराले आफ्नो दाइ रविन्द्र महरालाई परीक्षा दिन पठाएका हुन् ।
त्यसैगरी, दैलेखका हिक्मतबहादुर थापाको साटो इशान तामाङ्ग, कालिकोटका रित शाहीको साटो अभिषेक शाही र जाजरकोटकी शर्मिला शाहीको साटो तृप्ति सन्दासले परीक्षा दिएको पाइएको शाखाले जनाएको छ ।
टिप्पणीहरू