खुल्ला पोखरा र भैरहवामा विदेशी दूतावासका भिसा सेन्टर ?
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आवश्यक पर्ने सबै सेवासुविधा अब भैरहवा र पोखरामा उपलब्ध गराउने सरकारको तयारी छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको सर्वपक्षीय सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने सबै सेवासुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट नै उपलब्ध गराउन सरकारले तयारी थाल्ने बताइएको छ ।
उनीहरुको स्वास्थ्य परीक्षण, पूर्व प्रस्थान अभिमुखीकरण तालिम, बीमा, श्रम स्वीकृत र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं आउनुपर्ने अवस्थाको अन्त्य गर्न तथा भैरहवा र पोखराबाट सो सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउनसमेत सम्बन्धित संघसंस्थालाई निर्देशन दिइएको छ ।
बैठकले सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाका सम्बन्धमा सम्बन्धित कार्यालयले व्यवस्था मिलाउने निर्णय भएको मन्त्रालयका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।
उनका अनुसार श्रम स्वीकृतिलगायत सेवाहरुलाई सरल र सहज बनाउन वैदेशिक रोजगार विभागले आवश्यक व्यवस्था मिलाउनेछ । यस्तै, भिसा सेन्टरको स्थापनाका लागि परराष्ट्र मन्त्रालयमार्फत् अनुरोध गर्ने, ऐन, नियम, कार्यविधिमा केही संशोधन वा निर्णय गर्नुपर्ने भएमा मन्त्रालयले अध्ययन गर्ने र मन्त्रालय मातहतका सेवालाई क्रमशः प्रदेशस्तरमा लैजाने समेत निर्णय गरिएको छ ।
टिप्पणीहरू