डिजीका आसेपासेद्वारा पत्रकारलाई गायब पारिदिने धम्की

डिजीका आसेपासेद्वारा पत्रकारलाई गायब पारिदिने धम्की
सुन्नुहोस्

सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण पत्रकारिताको धर्म हो । अन्याय,अत्याचार, भ्रष्टाचार र समाजमा भएका बेथितिको विरोधमा कलम चलाउनु पत्रकारको दायित्व हो । विकृति–विसङ्गतिलाई उजागर गर्ने क्रममा पत्रकारले धेरै चुनौती खेप्नुपर्ने हुन्छ । पत्रकारलाई ज्यान मार्नेसम्मको धम्की आउने गरेको छ । 

समाचार लेख्ने पत्रकारमाथि दिनदहाडै हमला हुन्छ । सञ्चार प्रतिष्ठानमा छिरेर गुण्डागर्दी देखाइन्छ । यसैबीच,विमानस्थल निर्माणमा अनियमितता भएको समाचार लेख्दा एक पत्रकारलाई ज्यान मार्ने धम्की आएको छ । सरकारको डिजीका आसेपासेले फोन गरेर पत्रकारलाई धम्की दिएका छन् । 

नेपाल ग्राउण्ड जिरो डटकममा कार्यरत पत्रकार सुभक महतोलाई नेपाल नागरिक उडड्यन प्राधिकरणका विवादित महानिर्देशक प्रदिप अधिकारीको मान्छेले फोन गरेर डर देखाएका हुन् । आफ्नो नामसमेत बताउन नमान्ने ती व्यक्तिले सुन्नै नसकिने शब्दको प्रयोग गरेका छन् । 

महतोले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको अनियमितताबारे समाचार लेखेका थिए । उक्त समाचारलाई लिएर गएको शनिबार बिहान १०ः४९ मीनेटमा उनलाई फोन आयो । ती व्यक्तिले स्तरहीन शब्दको प्रयोग गर्दै उनलाई धम्काए । 

कुन समाचारलाई लिएर चित्त नबुझेको खुलाएनन् । सिधै गालीगलौज गर्नतर्फ लागे । आइतबार बिहान ११ः०१ मीनेटमा १ (६७८) ५२३–६५६९ नम्बरको ह्वाट्सएपबाट फोन आयो । अघिल्लो दिन फोन गरेकै व्यक्तिले पुनः फोन गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र प्राधिकरणका बारेमा समाचार नलेख्न दबाब दिँदै गालीगलौज गरे ।

ती व्यक्तिले उनलाई गायब पारिदिने, उडाइदिनेलगायतको धम्की दिएको अडियोमा सुन्न सकिन्छ । सिरहामा रहेका महतोका परिवारलाई पनि बाँकी नछोड्ने भन्दै उनले तर्साएका छन् । प्राप्त अडियोमा ती व्यक्तिले भनेका छन्,‘तँ... बिहारी । भारतबाट आएर वरिष्ठ व्यक्तिको विषयमा भ्रम छर्छस् । तलाईं गायब पारिदिन्छु । १० हजारमा काम गर्ने युट्युबे ।’ 

त्यस्तै, उनले पत्रकारलाई भुस्याहा कुकुर भनेका छन् । भन्छन्,‘तँजस्तो पत्रकार भुस्याहा कुकुरजसरी हिँडिरहेको हुन्छ । तँ कहाँ हिँड्छस् । तेरो परिवार के गर्छ, मलाई राम्ररी थाहा छ । धेरै फाइँफुट्टी नगर, उडाइदिन्छु ।’

उनको धम्कीपछि नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेको छ । महासंघले प्रेस स्वतन्त्रताविरोधी कार्य गर्नेलाई कारबाहीको माग गरेको छ । यता, महतोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका छन् । प्रहरीले सो विषयमा अनुसन्धान गरिरहेको उनको भनाइ छ । ‘धम्की आएपछि मैले रानीपोखरीस्थित प्रहरी कार्यालयमा सोमबार उजुरी दिएको छु । प्रहरीले अनुसन्धान गर्दै छ’,उनले भने ।

टिप्पणीहरू