रमेश खरेलका सबै आरोप निराधार : कुलमान घिसिङ

रमेश खरेलका सबै आरोप निराधार : कुलमान घिसिङ
सुन्नुहोस्

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेलले आफूलाई बद्नाम गराउने उद्देश्यले बेतुकको आरोप लगाएको उनले बताए । खरेलले निहित स्वार्थले गलत र भ्रामक कार्यक्रम उत्पादन गरी टेलिभिजनमार्फत सम्प्रेषण गरिरहेको उनको आरोप छ । आफूविरुद्ध सम्प्रेषण गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको घिसिङ्गद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

‘डिआईजी रमेश खरेलले एन्टी करप्सन नेटवर्कका तर्फबाट मिति २०८१ साउन २९ गते मंगलबारका दिन सामाजिक सञ्जालमार्फत मेराविरुद्ध सुनियोजित रुपमा दूषित मनसायका साथ सार्वजनिक गरेको विवरण र सोही आधारमा विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषण गरिएका समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ’,उनले भनेका छन्,‘पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्यमान्यता र आचारसंहिताको ठाडो उल्लङ्घन तथा सञ्चारमाध्यम दुरुपयोग गर्दै निज खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरु (मुख्य रुपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले कसैको उक्साहटमा मेराविरुद्धमा प्रचार भइरहेको थियो र छ ।’

खरेलले न्यायिक निकायजसरी आफूलाई दोषी करार गर्नु निन्दनीय भएको उनले बताएका छन् । आफू चर्चामा आउनका लागि उनले सामाजिक सञ्जालमार्फत उजुरी दिनासाथ सार्वजनिक गरेको घिसिङ्गको ठहर छ । त्यस्तै, उनले आफ्ना दाजुभाइ अंशबण्डा गरी छुट्टै बसिसकेको र उनीहरुले आफ्नो व्यापार–व्यवसाय इमान्दारितापूर्वक सञ्चालन गरिरहेको प्रष्टोक्ति दिएका छन् । 

‘मेरा दाइ र भाइले नेपालको संविधान र ऐनकानुनले दिएको हकअधिकार प्रयोगगरी स्वतन्त्र रुपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार–व्यवसाय इमान्दारीपूर्वक सञ्चालन गरिरहेका छन् । मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार–व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहन्छु । यदि मैले त्यस्तो गरेको पाइएमा राज्यका निकायहरुले छानबिन गर्ने नै छन्’,विज्ञप्तिमा उल्लेख छ । 

खरेलले घिसिङ्गमाथि भ्रष्टाचारको आरोप लगाउँदै अख्तियारमा उजुरी दर्ता गरेका छन् । डेडिकेटेड र ट्रंकलाइन, विभिन्न ठेक्का र पिपिएमा उनले अनियमितता गरेको खरेलको आरोप छ ।

टिप्पणीहरू