जारको पानीमा कोलिफर्म, महानगरले तिरायो दुई लाख जरिवाना

जारको पानीमा कोलिफर्म, महानगरले तिरायो दुई लाख जरिवाना
सुन्नुहोस्

'अल्का त्रिदेव' ब्राण्डको जारको पानीमा कोलिफर्म फेला परेपछि उत्पादक कम्पनी जाम्बुलिङ्ग ग्रुप इष्टष्ट्री कारवाहीमा परेको छ । 

काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित उक्त कम्पनीद्धारा उत्पादित ‘अक्वा त्रिदेव’ ब्राण्डको जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौँ महानगरले कारबाहीस्वरुप दुई लाख रुपैयाँ जरिवाना तिराएको हो । 

महानगरका निरीक्षण अधिकृत डा.अवधेश झाका अनुसार यही साउन २५ गते गोंगबु क्षेत्रबाट विभिन्न पाँच वटा ब्राण्डका २० लिटरका जारबाट पानीको नमूना लिइएको थियो । यसरी लिइएको नमूना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइयो । 

परीक्षणबाट मंगलबार प्राप्त रिपोर्टमा अक्वा त्रिदेव ब्राण्डको पानीमा फिकल कोलिफर्म भेटिएको महानगरले जनाएको छ । प्रति एक सय मिलिलिटर नमूनामा तीन सयभन्दा बढी कोलनी फर्मिङ् युनियम (सिएफयु) देखिएको छ । जबकि यो शून्य हुनुपर्छ । 

महानगरका खाद्य प्राविधिक अनिल बस्नेतले भने, ‘पानीमा सिएफयु तीन सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो ।’ उनका अनुसार कोलिफर्मको स्रोत मानव वा पशुको दिसा हो । 

तर, पानीमा भिब्रो कोलेरा शून्य देखिएकोले हैजा फैलिन जीवाणु नरहेको महानगरले जनाएको छ । महानगरले यो ब्राण्डको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाएको छ । पानीको कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुने जनाइएको छ ।

टिप्पणीहरू