एयरपोर्ट चलाउन टिकट र ग्राउण्ड ह्याण्डलिङमा छुट
सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन विभिन्न सहुलियत प्रस्ताव गरेको छ ।
दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलको सुझावका आधारमा सरकारले सहुलित दिन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ र हवाइ इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाएको जानकारी दिए ।
कार्यदलले दिएको सुझाव र एयरलाइन्सहरुले खोजेको सहुलियतका आधारमा मन्त्रालयले सहुलियत सम्बन्धी कार्य योजना बनाएको उनले बताए । जसअनुसार हवाई टिकटमा लाग्ने भ्याट २०८३ भदौसम्म मिनाहा गरिने छ । उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौं विमानस्थलमा भन्दा भैरहवामा इन्धनको मूल्य सस्तोमा दिइने छ ।
मन्त्री पाण्डेका अनुसार कार्ययोजना अनुसार परराष्ट्र र श्रम मन्त्रालयले क्रमश: अध्यागमन कार्यालय सञ्चालन र भिसा सेन्टरको व्यवस्थापन गर्नेछन् । कृषि तथा पशुपंक्षी मन्त्रालयले विमानस्थलमा क्वारेन्टाइन चेकजाँचको व्यवस्था मिलाउने छन् । कार्ययोजना मन्त्रिपरिषद्मा पेश भएको उनले बताए ।
पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना अन्तर्गत निर्माण भएका हुन् । ठूलो लगानीमा निर्मित दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भने हुन सकेका छैनन् । जसका कारण विमानस्थल बनाउँदा लिएको ऋणको साँवा ब्याज भुक्तानीमा समेत समस्या रहेको छ ।
टिप्पणीहरू