नयाँ दिल्ली हुँदै नेपाल आए अमेरिकी मन्त्री
अमेरिकी उप विदेशमन्त्री नेतृत्वको टोली काठमाडौं आइपुगेको छ । म्यानेजमेन्ट तथा रिर्सोसेज हेर्ने उपमन्त्री रिचर्ड आर बर्माको टोली बिहान ९ बजे वासिँगटनबाट नयाँ दिल्ली हुँदै एअर इण्डियाको उडान नम्बर एआई २१३ मा आएको हो ।
अमेरिकी उपमन्त्री बर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका छन् । उनीअघि दुई सदस्यीय टोली हिजो काठमाडौं आइपुगेको थियो ।
अमेरिकी प्रतिनिधिमण्डलले केहीबेरपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली,अन्य दलका नेता तथा मन्त्रीहरु,उच्च सरकारी अधिकारी, व्यवसायीहरुसँग भेटवार्ता गर्ने जनाइएको छ । टोलीले भेटमा आर्थिक विकास,महिला सशक्तिकरण,ऊर्जा र जनस्तरको सम्बन्धका साझा प्राथमिकताबारे छलफल गर्ने स्रोतले बतायो ।
अमेरिकी प्रतिनिधिमण्डलका तीन सदस्य आजै साँझ ५ बजे भिस्तारा एअरको उडान नम्बर युके १५६ मा नयाँ दिल्ली जानेछन् । अमेरिकी विदेश मन्त्रालका अनुसार टोलीले आज नेपाल र भोलिदेखि आगामी बिहीबारसम्म भारत भ्रमण गर्ने जनाएको छ ।
भारत भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनका अन्तर्राष्ट्रिय जलवायु नीतिसम्बन्धी वरिष्ठ सल्लाहकार जोन पोडेस्टा र ऊर्जा सहायक मन्त्री डेभिड टर्क पनि प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् ।
टिप्पणीहरू