हेटौंडाका जम्मै ब्यापारीको चाबी मेयर,उपमेयरलाई
कर वृद्धिको विरोधमा उत्रिएका हेटौँडाका व्यवसायीहरुले उपमहानगरलाई चाबी बुझाएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा केही दिनदेखि जारी आन्दोलनका क्रममा आज व्यवसायीहरुले आ-आफ्नो पसल तथा व्यवसाय बन्द गरेर उपमहानगरलाई चाबी जिम्मा लगाएका हुन् । नाराबाजी गर्दै उपमहानगर कार्यालय गेटमा पुगेका उनीहरुले मेयर मीना लामा र उपमेयर राजेश बानियाँलाई साँचो बुझाए ।
आन्दोलनमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघसहित एक दर्जन संघ संस्थाको सहभागिता छ ।
गत असार ७ गते बसेको उपमहानगरको १५औँ नगर सभाले राजश्वको दयारा बढाउने निर्णय गरेको थियो । जसमा बहाल करदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरिएको छ ।
उक्त निर्णय फिर्ता लिन माग गर्दै व्यवसायीहरु चरणवद्ध आन्दोलनमा छन् । यसअघि उद्योग वाणिज्य महासंघले लिखित ध्यानाकार्षण पत्र बुझाउँदै कर वृद्धि नगर्न आग्रहसमेत गरेको थियो ।
तर, माग पूरा नभएकाले आन्दोलनमा उत्रनुपरेको महासंघले जनाएको छ । मेयर लामाले भने वार्ताबाट समस्याको समाधान गर्न तयार रहेको जनाउँदै व्यापारीहरुलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेकी छन् ।
आज अपराह्न ४ बजे व्यवसायीका प्रतिनिधिलाई वार्तामा बोलाइएको उनले बताइन् । 'नाराबाजी गरेर, जुलुस गरेर समस्या हल हुदैन । उहाँहरुसँग अस्ति एउटा वार्ता गयौँ, कुरा मिलेन । फेरि आज ४ बजे बोलाएका छौ । सकभर संवादबाटै विवादलाई टुंगो लगाउँछौ', जनआस्थासँग मेयर लामाले भनिन् ।
नगर परिषद्ले आर्थिक विधेयक पास गरेर कार्यान्वयन भइसकेकाले कर वृद्धिको निर्णय फिर्ता गर्न कठिन हुने उनको भनाई छ । यद्यपि, यसबारे छलफल भइरहेको उनले जानकारी दिइन् ।
टिप्पणीहरू