बिरामीको निधनपछि आफन्तहरुको प्रदर्शन, डाक्टरहरुको आपत्ति
चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको जनाउँदै ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा आज पनि प्रदर्शन गरिएको छ । कोटेश्वर बस्ने २७ वर्षीया खुशी मगरको पित्त थैलीको अपरेसनपश्चात् मृत्यु भएपछि मृतकका आफन्तले उपचारमा गम्भीर लापरबाही गरिएको आरोप लगाएका छन् ।
नेपाल मगर संघको नेतृत्वमा मृतकका आफन्तसहित झण्डै पाँच दर्जनले दिउँसो साढे १ बजेदेखि अस्पतालको ब्लक ‘ए’ भवनको कम्पाउण्डभित्र प्लेकार्डसहित मौन प्रदर्शन गरिरहेका छन् । उनीहरुले ‘मृतक खुशी मगरलाई न्याय दे’, ‘उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाही गर’, ‘टुहुरा नाबालकको शिक्षा स्वास्थ्यको ग्यारेन्टी गर’, ‘पीडित पक्षलाई क्षतिपूर्तिको व्यवस्था गर’, ‘वार्ताको वातावरण सिर्जना गर’, लेखिएका प्लेकार्ड बोकेका छन् ।
पित्त थैलीको शल्यक्रिया गरिएको केही दिनपछि स्वास्थ्यमा जटिलता आएपछि खुशीको गत शनिबार अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ । प्रदर्शनको क्रममा आक्रोशित आफन्तहरुले अस्ति अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि नै दुर्व्यवहार गरेको भन्दै नेपाल चिकित्सक संघले हिजो आपत्ति जनाएको थियो ।
चिकित्सकहरुको अथक प्रयासका बाबजुद बिरामीको मृत्यु भएको विषय पीडित पक्षलाई जानकारी गराउँदा गराउँदै पनि अस्पतालको इमर्जेन्सी विभागमा प्रवेश गरी सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू