गृहसचिव र आइजीहरुबीच कार्य सम्पादन सम्झौता
गृह मन्त्रालयसँग नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आर्थिक वर्ष २०८१/८२ का लागि कार्यसम्पादन सम्झौता गरेका छन् । गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव एकनारायण अर्यालसँग प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले चालु आर्थिक वर्षको निम्ति छुट्टाछुट्टै कार्यसम्पादन सम्झौता गरेका हुन् ।
गृहमन्त्री रमेश लेखकको उपस्थितिमा सचिव अर्यालसँग दुबै महानिरीक्षकले त्यस्तो सम्झौता गरेका हुन् । कार्य सम्पादन सम्झौतामा शान्ति सुरक्षा, सेवा प्रवाह र सुशासनलगायत गृहले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तोकेको जिम्मेवारी प्रतिविम्बित रहेको जनाइएको छ ।
सरकारले पछिल्लो समय सरकारी कार्यालय तथा निकायको समुचित व्यवस्थापन, कामको प्रभावकारिता, गुणस्तर, समयसीमा, लागत, परिणाम, जिम्मेवारी, जवाफदेहिता तथा प्रोत्साहन सुविधालगायत किटान गरेर मापनयोग्य सूचकका आधारमा कामको मूल्याङ्कन गर्ने व्यवस्था गरेको छ । कार्यसम्पादन सम्झौतालाई एउटा व्यवस्थापकीय औंजार मानिन्छ । यो माथिल्लो निकाय र जिम्मेवार पदाधिकारीबीच हुने गर्छ ।
टिप्पणीहरू