नारायणहिटीको बारमा ब्यानर टाँगेर हिँडेकाले भदौ ४ गते बत्ति बाल्ने
राजा र हिन्दुराष्ट्र फर्काउने अभियानअन्तर्गत राजावादीहरुको एक समूहले नारायणहिटी संग्रहालय अगाडि धर्ना दिएको छ ।
‘राष्ट्रवादी नागरिक समाज’को ब्यानरमा आज अपरान्ह नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटअगाडिको सडकमा उनीहरु धर्ना बसेका हुन् । ‘राजा चाहियो’ भन्दै नाराबाजी गरेका धर्नाकारीले पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो प्रदर्शन गरेका थिए ।
सरकार र गणतन्त्रविरुद्ध उग्र नाराबाजी गरेका धर्नाकारीले नारायणहिटीको पर्खालमा ‘श्री ५ को सरकार नारायणहिटी राजदरबार’ लेखिएको ब्यानर टाँगेका हुन् । उनीहरुले ‘श्री ५ ज्ञानेन्द्र आउ, देश बचाउ’, ‘गणतन्त्र मूर्दावाद’, विद्युत महशुल खाने ओली सरकार मूर्दावाद’, ‘नारायणहिटी संग्रहालय छिटो खाली गर’, ‘राजतन्त्र घोषणा गर’, ’ओली–देउवाको पाराले, दुःख पायो साराले’,जस्ता नारा लगाए ।
राजतन्त्रको पक्षमा वकालत गर्दै आएको यो समूहले २०४७ सालको संविधान जगाउँदै पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीमा फर्काउने भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ । सोहीक्रममा पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्नको जन्मदिन पारेर भदौ ४ गते साँझ असन चोकस्थित अन्नपूर्ण मन्दिर अगाडि दीप प्रज्वलन गर्ने तयारी छ ।
टिप्पणीहरू