गलेश्वरधाम : भेटी गणना पारदर्शी, भौतिक संरचना धमाधम

गलेश्वरधाम : भेटी गणना पारदर्शी, भौतिक संरचना धमाधम

-अमृत बास्कुने

म्याग्दीको बेनी नगरपालिका ९, गलेश्वरस्थित गलेश्वरधाम मन्दिरमा पुगेका भक्तजनले चढाएको भेटीबाटै भौतिक पूर्वाधार विस्तार गरिएको छ । साउनका सबै सोमबार, बालाचतुर्दशी र शिवरात्रीजस्ता पर्वमा भक्तजनले चढाएको भेटीबाट मन्दिरमा भौतिक पूर्वाधार विस्तार गर्न सहयोग पुग्ने गरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कोषका पदाधिकारी, स्थानीय समुदाय तथा अन्य सर्वसाधारणको उपस्थितिमा मुचुल्का उठाएर भेटी गणना गर्ने गरिन्छ । भेटी रकम चढाइने सबै स्थान सिसीटिभी क्यामेराको निगरानीमा रहने गरेको छ । पर्व सकिएको भोलिपल्ट सरोकारवाला निकायको उपस्थितिमा कोषका पदाधिकारीले मुचुल्कामा हस्ताक्षर गरेलगत्तै भेटी राखेको दानपेटिका खोलेर पैसा गन्ने गरिएको छ । 

मन्दिरमा विगत १४ वर्षदेखि सार्वजनिक स्थानमा सबैको सामुन्ने भेटी गनेर सार्वजनिक गर्ने गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए । मुलुकका कतिपय मन्दिरमा भेटी दुरुपयोगका खबर सार्वजनिक भइरहँदा गलेश्वरमा सर्वसाधारणले भेटी गनेको प्रत्यक्ष अवलोकन गर्न सक्छन् ।

 

यो वर्षको साउन अन्तिम सोमबार चार लाख ३५ हजार ९६७ रुपैयाँ संकलन भएको छ । पहिलो सोमबार तीन लाख ७२ हजार ३७२, दोस्रो सोमबार तीन लाख ३६ हजार १८५, तेस्रो सोमबार तीन लाख ६६ हजार २०० गरी कुल १५ लाख १० हजार ७२४ रुपैयाँ उठेको छ । भक्तजनको भीड लाग्ने धार्मिक महत्वको पर्वको भोलिपल्ट बिहान ७ बजेदेखि भेटी गन्ने गरिएको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए ।

गलेश्वर मन्दिरमा भेटी गणना वि.सं. २०६७ देखि शुरु भएको हो । त्यतिबेला साउनको पहिलो सोमबार तत्कालीन अध्यक्ष रुद्रबहादुर केसीको अगुवाइमा भेटी गणना गरेर सार्वजनिक गरिएको थियो । पहिलो पटकको गणनामा ३२ हजार ३०० रुपैयाँ संकलन भएको थियो । 

अध्यक्ष रेग्मीले भने,‘त्यो समय म आफैं कोषको सदस्यसचिव थिएँ, भेटी गणना गरेर सार्वजनिक गर्नपर्छ भनेर शुरु गरेका थियौं ।’ गणना गरेर सार्वजनिक गर्दा भेटीको दुरुपयोग रोकिने उनको भनाइ छ । त्यस्तै, पूर्वाधार विस्तारका लागि भक्तजनले खुलेर दान गर्ने उनको अनुभव छ । 

कोषले हालसम्म मन्दिरमा संकलित भेटीबाट गलेश्वर क्षेत्रमा धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मीनारायणको मूर्ति निर्माण गरेको छ । त्यस्तै, सो क्षेत्रमा सिसीटिभी क्यामेरा, सडकबत्ती, कालिगण्डकीको जल लिफ्टिङबाट मन्दिरसम्म ल्याएर स्नान गर्ने धारालगायत करिब १३ करोड रुपैयाँ लागतमा भौतिक संरचना निर्माण गरिसकेको छ ।

भगवानलाई चढाइएको भेटीको दुरुपयोग गर्नु एक किसिमले अपराध नै भएकाले भक्तजनहरुले समेत गन्न सघाउने गरेको कोषकी कोषाध्यक्ष कुमारी रोकाले बताइन् । उनका अनुसार भेटी गन्न तीन दर्जनभन्दा बढीको उपस्थिति हुने गरेको छ । 

भारत मोतिहारीका कामेश्वर शाहले साउनको हरेक मंगलबार मन्दिरमा आएर भेटी रकम गणनामा सहयोग गरेको बताए । उनी भन्छन्,‘म यही मन्दिरनजिकै व्यवसाय गर्छु, सोमबार आएर भक्तजनले चढाएको पैसा मंगलबार बिहान गणना गर्ने बेलामा म पनि आएर गन्छु ।’ 

अन्य ठूला चाडपर्वमा मन्दिरको भेटी गन्न व्यवसाय नै छाडेर आउने गरेका छन् । भारतका धेरै धार्मिकस्थलमा पुगेपनि गलेश्वरमा जस्तै गरेर मन्दिरमा संकलन भएको भेटी सार्वजनिक गरेको आफूलाई जानकारी नभएको र यहाँको चलन आफूलाई नौलो लागेको उनले सुनाए ।

 

वि.सं. ०५७ देखि २०६७ सम्म मन्दिर व्यवस्थापन समितिको खातामा ३१ लाख रुपैयाँ मन्दिरको आम्दानी थियो । अहिले भौतिक संरचनाहरुमा खर्च गरेर पनि चार करोड ४१ लाख २५ हजार २२२ रुपैयाँ बचत रहेको कोषले जनाएको छ । 

गलेश्वर शिवालयको सन्दर्भमा हिन्दू धर्मग्रन्थहरुमा भगवान महादेवले आफ्नी पत्नी सतीदेवीको मृत शरीर बोकेर हिँड्ने समयमा गलापतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको मान्यता छ । पवित्र कालीगण्डकी नदीबाट उठेको ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित छ । 

उक्त चक्रशिलामा ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्हहरु स्वयम् उत्पन्न भएको धार्मिक पुस्तकमा समेत उल्लेख छ ।

टिप्पणीहरू