थामे बस्तीको हेलिकोप्टर निरीक्षणपछि हिमताल फुटेको पुष्टि
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा हिजो आएको भीषण बाढीको कारण हिमताल फुटेको तथ्य बताइएको छ । थामे खोलाको उत्पत्तिस्थल माथिको हिमताल फुटेपछि आएको बाढीले बस्तीमा ठूलो क्षति पुर्याएको छ ।
आज बिहान रक्षामन्त्री मानवीर राई नेतृत्वको टोलीले गरेको हेलिकोप्टर निरीक्षणबाट हिमताल फुटेपछि आएको बाढीले बस्ती सखाप बनाएको दृश्य देखेको हो । बाढीले केही घर बगाएको छ भने २० घर र विद्यालय भवन पुरेको छ । एउटा पक्की पुल पनि बगेको छ ।
स्थानीय १३५ जना विस्थापित भएका छन् भने एक जना बेपत्ता भएको बताइएको छ । बाढी दुधकोशीमा मिसिएपछि खुम्बु जाने बाटो बगाएको छ ।
टिप्पणीहरू