युवा वैज्ञानिकलाई अनुसन्धानमा सघाउन अनुदान
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले युवा वैज्ञानिकहरूलाई गर्ने अनुसन्धान सहयोग प्रदानका लागि प्रस्ताव मागेको छ ।
आज सूचना प्रकाशित गर्दै नास्टले चालु आर्थिक वर्षमा विज्ञान तथा प्रविधिका विधामा नतिजामुखी अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न इच्छुकसँग प्रस्ताव आह्वान गरेको हो । सूचनामा ४० वर्ष उमेर ननाघेका वैज्ञानिकले आगामी २१ दिनभित्र प्रस्ताव पेश गर्न सक्नेछन् ।
नास्टले अनुसन्धान अनुदानका लागि बजेटको अधिकतम सीमा व्यक्ति तथा समूहगतका लागि पाँच लाख, संस्थागततर्फ दश लाख र बहुविधागतका लागि १२ लाख रुपैयाँ निर्धारण गरेको जानकारी दिएको छ ।
माध्यमिक विद्यालयस्तर (विज्ञान कक्षा १२) का विद्यार्थीबाट गरिने अनुसन्धानका लागि ५० हजार, क्याम्पसस्तर (विज्ञान तथा प्रविधि विषयमा स्नातक) विद्यार्थीका लागि एक लाख र वैज्ञानिक समाज, प्रविधि समाज र संस्थाले गर्ने अनुसन्धान कार्यक्रम सञ्चालनका लागि एक लाख रुपैयाँ बजेट सीमा कायम गरिएको छ ।
चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट गत आर्थिक वर्षमा प्रदान गरिएको अनुसन्धान अनुदानको बाँकी किस्ता रकम भुक्तानी दिनुपर्ने भएकोले सोको व्ययभार र प्रशासनिक खर्च कटाई बाँकी रकमबाट अनुदान प्रदान गरिने पनि नास्टले जनाएको छ ।
टिप्पणीहरू