रमेश खरेलविरुद्ध अख्तियार पुगे युवराज
सर्वोच्च अदालतमा रिट हालेर रवि लामिछानेको तत्कालीन सांसद र मन्त्री पद खुस्काइदिएपछि एकाएक चर्चामा आएका र आफूलाई चित्त नबुझेका विषयमा उजुरी हाल्दै हिँड्ने सिन्धुलीका युवराज सफल पूर्वडिआइजी रमेश खरेललाई कारवाही गराउन कस्सिएका छन् ।
प्रहरी सेवामा रहँदा खरेलले नक्कली सुराकी खडा गरी कमिशन खाएको जिकिर गर्दै अख्तियार गुहारेका युवराज कारवाही गराउन तम्सिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज उजुरी दर्ता गराएका उनले खरेललाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरेका छन् ।
खरेलले हालै एक टेलिभिजन अन्तरवार्तामा पत्नी रञ्जु खरेललाई सुराकी बनाएर कमिसन खाएको बताएका थिए । पत्नीलाई नक्कली सुराकी देखाएर भन्सार कार्यालयबाट कमिसन लिएको भन्दै उनको आलोचना भइरहेको छ । यसैबीच युवराज उजुरी लिएर आज बिहानै अख्तियार पुगेका हुन् ।
वास्तविक सुराकी कर्तालाई सुराक गरेवापत निश्चित रकम दिने कानुनी व्यवस्था रहेता पनि नक्कली सुराकी खडा गरी कमिशन खानु भ्रष्टाचारजन्य कार्य भएकाले खरेलमाथि कारवाही हुनुपर्ने उजुरीमा माग गरिएको छ । सी-०१०४०८/२०८१।०५।०२ दर्ता नम्बर रहेको उजुरीमा २०४६ सालपछि नक्कली सुराकी खडा गरि करोडौं रुपैयाँ कमिसन खानेहरुबाट रकम असुली गरी राज्य कोषमा ल्याउन मागसमेत गरिएको छ ।
टिप्पणीहरू