गौरमा सुविधा सम्पन्न कृषि तथा पशु सेवा केन्द्र

गौरमा सुविधा सम्पन्न कृषि तथा पशु सेवा केन्द्र
सुन्नुहोस्

रौतहटको गौरमा कृषि तथा पशु सेवा केन्द्र स्थापना गर्न लागिएको छ । ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना, काठमाडौंको आर्थिक सहयोगमा केन्द्रको स्थापना गर्न लागिएको बताइएको छ ।

गौर नगरपालिकाका मेयर शम्भु साहले केन्द्रको भवन शिलान्यास गरेका छन् । दुई करोड ४० लाख ३० हजार रुपैयाँमा तीन तले भवन बनाउन लागिएको जानकारी दिइएको छ । भवन निर्माणको ठेक्का सम्झौता सिएम कन्ट्रक्सनले पाएको मेयरले बताए । 

१० वटा कोठा रहने भवन निर्माण आगामी वैशाख मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने छ । भवनको भुइँ तलामा कृषि र पशुको अत्याधुनिक ल्याब, पहिलो तलामा ५० जना अट्ने सभाकक्ष र दोस्रो तलामा अतिथि गृह रहनेछ । 

कृषि प्रयोगशालाबाट माटो, पोखरीको पानी, बाली तथा फलफूलमा लाग्ने रोग, मलखाँद परीक्षण हुनेछ । त्यस्तै, पशुको रगत तथा मलमूत्र परीक्षण, पशुको शल्यक्रिया, कृत्रिम गर्भधारण, अल्ट्रासाउण्ड, एक्स–रेलगायतका काम हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले बताए ।

टिप्पणीहरू