ठूलाबडालाई दिउँसो डेढ बजेपछि मात्रै जनै पूर्णिमा मनाउन सुझाव
नेपाल पञ्चाङ निर्णायक विकास समितिले राष्ट्रप्रमुख तथा राज्य सञ्चालनका विशिष्ट भूमिकामा रहेका व्यक्तिलाई भद्रा कटाएर मात्र रक्षाबन्धनको कर्म गर्न आग्रह गरेको छ । समितिले विशिष्ट व्यक्तिहरुलाई भद्रा कटाएर मात्र रक्षाबन्धनको कर्म गर्न अनुरोध गरेको हो ।
हरेक वर्ष श्रावण शुल्क पूर्णिमा दिन मनाइने रक्षाबन्धन अर्थात् जनैपूर्णिमा भोलि मुलुकभर मनाइँदैछ । समितिका अनुसार भोलि पूर्णिमा तिथि ४७ घडी १९ पला छ । घण्टा र मीनेटअनुसार दिउँसो १ बजेर ३१ बजेसम्म भद्रा परेको हो ।
उक्त समयमा अन्य कर्म गर्न भएपनि भद्राभित्र रक्षाबन्धन, जनैपूर्णिमासम्बन्धी कर्म गर्न मिल्छ कि मिल्दैन ? भन्ने प्रश्न उठिरहेकोमा समितिले ध्यानाकर्षण गर्दै त्यसबारे धारणा सार्वजनिक गरेको छ ।
भद्रामा श्रावणीसम्बन्धी काम र होलिका दहनको काम गरेमा श्रावणीको कामबाट राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एव््म शहरको नाश हुने विषयमा शास्त्रीयवचन स्पष्ट रहेको समितिले जनाएको छ । त्यसैले, विशिष्ट व्यक्तिहरुलाई मात्र भाद्र कटाई सोमबार १ बजेर ३१ मिनेट बितेपछि रक्षाबन्धनको कर्म गर्न आग्रह गरिएको हो ।
‘विशिष्ट व्यक्तिहरुले मात्र भद्रा कटाई उक्त दिन १ बजेर ३१ मिनेट बितेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिब देखिन्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ, ‘यसबीचमा गणस्नान आदि उपाकर्मका समस्त कर्म र रक्षाबन्धनको पनि पूजनादि गर्न हुने तर रक्षासूत्र मात्र पूर्वोक्त बाँध्न नहुने हुँदा भद्रापछि बाँध्नु उचित हुने शास्त्रीय व्यवस्था र परम्परा पनि रहेको देखिन्छ ।’
टिप्पणीहरू