आँप बेचेर कमाउने चीन, उपहार दिने भारत
गुणस्तरीय आँप उत्पादन र निर्यातमा पहिलो स्थान बनाएको भारतलाई चीनले पछाडि पारेको छ । नयाँ दिल्लीस्थित चिनियाँ दूतावासका अनुसार अघिल्लो वर्ष चीनले विश्वका विभिन्न मुलुकमा ताजा आँप वा यसका विभिन्न परिकार निर्यात गरेर ५ करोड ९५ लाख अमेरिकी डलर आम्दानी गरेको छ ।
भारतीय वाणिज्य मन्त्रालयले सोही अवधिमा भारतले आँप निर्यात गरेर कूल ५ करोड ६० लाख अमेरिकी डलर आम्दानी गरेको जनाएको छ । यो चीनको भन्दा ६ प्रतिशतले कम हो । विश्वमै आँपको झण्डै ४० प्रतिशत उत्पादन भारतमा हुने गरेको छ ।
यता चीनले भारत र विश्वमा निकै लोकप्रिय मानिएका विभिन्न जातका आँप उत्पादन र निर्यात गर्न थालेको छ । विशेषगरी केही वर्ष अघिसम्म भारतमा मात्रै उत्पादन हुने दसरी, चौसा,अल्फान्सो,लांग्रा जातका आँप अहिले चीनले धेरै नै उत्पादन र निर्यात गर्न थालेको छ ।
लाइभमिन्ट डट कमका अनुसार चीनको दक्षिणपूर्वी भेगका मानिसबाहेक अरुलाई सन् १९६० भन्दाअघि आँपको बारेमा त्यति धेरै थाहा थिएन । सन् १९५० मा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले नयाँ दिल्लीबाट उपहारस्वरुप आठ वटा आँपको बिरुवा चिनियाँ प्रधानमन्त्री चौउ एनलाईलाई पठाएका थिए ।
ती विरुवामा तीन वटा दसरी,चौसा र अल्फान्सो दुई दुई वटा तथा लाँग्रा एउटा थियो । पछिल्लो समय चीनले ती आठ वटा विरुवालाई कलमी गरेर आँपको लागि उपयुक्त हावापानी भएका हाइनान र ग्वाङतोङ प्रान्तमा बागवानी शुरु गरेको थियो ।
अहिले ती आँपमध्ये केही भारतमा समेत निर्यात हुने गरेको पाइएको छ । चीनबाहेक भारतमा त्यसबेला निकै प्रख्यात जातका आँप पछिल्लो समय बंगलादेश र पाकिस्तानमा पनि उत्पादन हुने गरेको छ । विज्ञहरुका अनुसार भारतमा मात्रै १४ सय जातका आँप छन् । भारतमा सबैभन्दा धेरै आँप उत्तर प्रदेश,आन्ध्र प्रदेश,बिहार,कर्नाटका, तेलंगा र पश्चिम बंगालमा उत्पादन हुन्छ ।
भारतीय आँप मुख्यतः युएई,बेलायत, अमेरिका, कुवेत र कतारमा निर्यात हुने गर्छ । चीनको आँप भन्द जापान,कोरिया,दक्षिण पूर्वी एसियाली मुलुक, मध्यपूर्व,युरोप,अमेरिका र अष्ट्रेलियासम्म पुग्ने गरेको छ ।
टिप्पणीहरू