थरीथरीका मोटरसाइकल नियन्त्रणमा लिन कास्की प्रहरीलाई भ्याईनभ्याई

थरीथरीका मोटरसाइकल नियन्त्रणमा लिन कास्की प्रहरीलाई भ्याईनभ्याई
सुन्नुहोस्

कास्कीमा स्वरुप परिवर्तन (मोडिफाई) गरिएका डेढ सय मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयले पछिल्लो पाँच दिनमा स्वरुप परिवर्तन गरिएका एक सय ४९ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । 

नियन्त्रणमा लिइएकाहरु पहिलो पटकेदेखि चौथो पटकेसम्म रहेको र कारबाही शुरु गरिएको जनाइएको छ । यसबाट २२ लाख रुपैयाँ राजस्व उठ्ने प्रहरी कार्यालयको अनुमान छ । मोडिफाई गरी समाजमा होहल्ला मच्चाउँदै हुइँकिने र ध्वनी प्रदूषण गर्ने मोटरसाइकलमाथि कास्की प्रहरीले लामो समयदेखि अभियान चलाउँदै आएको छ । 

अभियानकै क्रममा गत वर्षको असोजमा २२ थान र फागुनमा ५७ थान मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । साथै, आठ जना वर्कशप सञ्चालकलाई समेत पक्राउ गरी मोटरसाइकलको स्वरुप परिर्वतन नगर्ने र सचेतनामूलक कार्यक्रम गरी स्टिकर टाँस गर्ने शर्तमा छोडिएको थियो । 

अभियान सञ्चालनदेखि हालसम्म स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने दुई हजार ३५ थान मोटरसाइकल कारबाही गरी २९ लाख आठ सय रुपैयाँ जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तीमध्ये स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्बर प्लेट, लुकिङ ग्लास, सक ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गरेमा वा ध्वनी प्रदूषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम १५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । 

साथै, यस्तो कार्यमा संलग्न सवारीधनी र वर्कशप सञ्चालकलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने गरिएको छ ।

टिप्पणीहरू