प्रहरीको सानो भूलले निम्त्याएको भाँडभैलो

प्रहरीको सानो भूलले निम्त्याएको भाँडभैलो
सुन्नुहोस्

साउन महिनाभर धुमधामसँग कोटीहोम लगाइएको पशुपतिको कैलाश डाँडा शुक्रबार राति एकाएक रण मैदानमा परिणत भयो । एकातिर सादा पोशाकका प्रहरी र अर्कोतर्फ कोटीहोमका मुख्य आयोजक विजय कृष्णमूर्ति उर्फ विजय भण्डारीसँगै उनका अन्धभक्तको जत्था । 

प्रहरीले धरपकड र पक्राउ गर्न खोजेको जनाउँदै भण्डारीले फेसबुक पेजमा लाइभ प्रशारणनिम्ति आग्रह गरे,मिडिया र भक्तजनलाई राति नै पशुपति आउन उर्दी लगाए । भण्डारीको आरोप छ, ‘प्रहरीले कोटीहोमस्थलमा हस्तक्षेप गर्यो । मलाई पक्रन खोज्यो ।’

उनी झण्डै डेढ दशकअघि ठगीको आरोपमा पटक पटक प्रहरी हिरासतमा परेका व्यक्ति हुन् । उनले यसबीच प्रहरी हेडक्वार्टर नक्सालबाट असल चालचलनको चारित्रिक प्रमाणपत्र बनाएको पाइएपछि त्यसको वास्तविकता पत्ता लगाउन कोटीहोमको साङ्गेपछि राति सादा पोशाकका प्रहरी कैलाश डाँडा पुगेको बताइन्छ ।

प्रहरी भन्छ,‘सामान्य सोधपुछका लागि पहल भएको थियो । उसको चारित्रिक प्रमाणपत्र सोधपुछ गर्न खोजिएकोमा एकाएक लफडा गर्यो । पहिलेको अपराधिक पृष्ठभूमिलाई छोप्न उसले झिकेको चारित्रिक प्रमाणको वास्तविकता पत्ता लगाउन खोजिएको थियो ।’ तर,त्यसबारे समय र सन्दर्भ भने प्रहरीले नै मिलाउन नसकेको धेरैको निचोड छ ।

दिउँसो छलफलका लागि बोलाउँदा आउँछु भनेर पनि नआएपछि ताकेताको लागि सादा पोशाकमा प्रहरी टोली राति गएको बुझिएको छ । 

गृह मन्त्रालय स्रोत भन्छ,‘भण्डारीले प्रहरीबाट सर्टिफिकेट निकालेकै हो त्यसमा दुई मत छैन । तर,त्यो सँधैलाई काम लाग्ने पनि होइन । निगरानीमा राख्दै उसलाई शनिबार वा दुई चार दिनपछि बोलाइएको भए पनि हुन्थ्यो,रातारात झम्टिन पर्दैनथ्यो । त्यहाँनेर प्रहरी कमाण्डरको कमजोरी भएको छ । अनाहक सादा पोशाकका जवानले चुटाई खाएका छन् । परिस्थितिले प्रहरी स्वयम् रक्षात्मक अवस्थामा पुग्नु राम्रो भएन ।’

यता,प्रहरीको उच्च स्रोतले भण्डारीले जे जे गरे पनि प्रहरीमा आउनै पर्ने, चारित्रिक प्रमाणपत्रबारे जानकारी दिनैपर्ने दाबी गरेको छ । ठगी मुद्दामा दुई पटक पक्राउ परेको,अरुको पैसा नतिरेपछि मुद्दा लाग्ने क्रममा ससुरालीको घर बेचेर व्यवहार मिलाएकाले पाएको असल चालचलनको अनुसन्धान गर्न खोजिएको प्रहरीको दावी छ ।

भण्डारीको चालचलन रिपोर्टबारे आवश्यक तथ्य पत्ता लगाउन हेडक्वार्टरले जिल्ला प्रहरी काठमाडौंलाई आदेश दिएको थियो । सोही क्रममा शुक्रबार कोटीहोम समापनपछि राति प्रहरी कैलाश डाँडा गएको हो । दिउँसो छलफलका लागि बोलाउँदा आउँछु भनेर पनि नआएपछि ताकेताको लागि सादा पोशाकमा प्रहरी टोली राति गएको बुझिएको छ ।

प्रहरी भन्छ, ‘गेरुवस्त्रधारीका तथाकथित कार्यकर्ताले अवरोध पुर्याए । उनीहरुलाई भण्डारीले नै प्रतिकारमा उत्रन उक्साए । त्यसपछि सुरक्षाकर्मीले ज्यादती गरेको प्रचारसँगै सादा पोशाकका प्रहरीलाई निर्घात कुटियो ।’ 

चालचलन सर्टिफिकेटबारे बुझ्नको लागि प्रहरीले छनौट गरेको समय अनुपयुक्त रहेको स्वतः अनुमान गर्न सकिन्छ । छ महिनाको म्याद रहेको उक्त प्रमाणपत्रबारे राति नै बुझ्नुपर्ने अवस्था थिएन । प्रहरीको जिम्मेवार अधिकृतले विषयवस्तुको महत्व, समय सान्दर्भिकता र धार्मिक संवेदनशीलताको ख्याल राख्न नसक्दा शुक्रबार राति पशुपतिमा उक्त घटना भएको बताइन्छ । ‘जो चोर उसैको ठूलो स्वर’ भनेझैँ भण्डारीले नै नेपालको हालत बंगलादेशको जस्तै हुने ध्वाँस दिए । धमिलो पानीमा माछा मार्न खोज्नेलाई उनको धम्की परालको त्यान्द्रोझैँ सहारा बन्न पुगेको छ । कार्यालयमा बोलाएर सामान्य सोधपुछ गरिएको भए भण्डारी र उनका समर्थकको दम्भले कुनै स्थान पाउने अवस्था नै थिएन ।

टिप्पणीहरू