ध्वनी प्रदूषण गराएका मोटरसाइकलबाट ३४ लाख राजश्व

ध्वनी प्रदूषण गराएका मोटरसाइकलबाट ३४ लाख राजश्व

 यदुनाथ बन्जारा

लाहुरेहरुको सहरको रुपमा परिचित पोखरामा प्रहरीले दुई हजारभन्दा बढी मोटरसाइकल चालकलाई कारबाही गरेको छ । मोडिफाइ र ध्वनी प्रदुषण गराएको आरोपमा दुई हजार ३५ मोटरसाइकल प्रहरीको कारबाहीमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका इकाइ र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा स्वरुप परिवर्तन गरेर ध्वनी प्रदुषण गराएका मोटरसाइकलहरुलाई नियन्त्रणमा लिइएको छ । गत असोज २१ गतेदेखि थालिएको अभियानमा त्यस्ता मोटरसाइकलमाथि कारवाही थालिएको जिल्ला प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए । स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदूषण गराउने पार्टपूर्जा जडान गरेका मोटरसाइकल कारबाहीमा परेका हुन् ।

मोटरसाइकलको स्वरुप परिवर्तन गराउने आठ वर्कसपका सञ्चालकहरुलाई समेत पक्राउ गरिएको छ । उनीहरुलाई आगामी दिनमा त्यस्तो कार्य नगर्ने शर्तमा छाडिएको छ । प्रहरीले सचेतनामूलक कार्यक्रमको आयोजना गरेर स्टिकर समेत टाँसेको छ ।

उक्त अवधिमा त्यस्ता मोटरसाइकलबाट ट्राफिक प्रहरीले २९ लाख आठ सय र यातायात व्यवस्था कार्यालय कास्कीले पाँच लाख ५७ हजार राजश्व संकलन गरेको छ । कास्कीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक भानु शर्माका अनुसार पहिलोपटक स्वरुप परिवर्तन गरेका मोटरसाइकललाई ट्राफिकले अवस्था हेरेर पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना गर्दै आएको छ ।

दोसो पटक त्यस्तो गरेको भेटिएमा आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाउने गरिएको छ । यातायात कार्यालयले यातायात व्यवस्था ऐन, २०४९ अनुसार पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने कानुनी व्यवस्था छ । 

आर्थिक वर्ष २०८०÷८१ मा स्वरुप परिवर्तनमा पटके कारबाहीमा परेका ५९ मोटरसाइकलहरुलाई यातायात कार्यालय पठाइएको थियो । त्यसबाट पाँच लाख ५७ हजार रुपैयाँ राजश्व यातायात कार्यालयले संकलन गरेको शर्माले जानकारी दिए।

प्रहरी चेकजाँचको क्रममा एउटै मोटरसाइकल चार पटकसम्म कारबाहीमा परेको पाइएको छ । पहिलो पटकको कारबाहीपछि पुनः पटके कारबाहीमा परेकालाई यातायात कार्यालयमा पठाइएको थियो ।     पाँचौ पटक स्वरुप परिवर्तन गरिए सवारीधनीलाई मुलुकी अपराधसंहिता, २०७४ वमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइन्छ । यस्तो अवस्थामा सम्बन्धित वर्कसप सञ्चाललाई समेत सोही कसूरमा मुद्दा चलाइने थापाले बताए । स्वरुप परिवर्तन गरेर सवारी साधन चलाउँदा दुर्घटनाको सम्भावना बढ्छ । त्यसैगरी ध्वनी प्रदुषण, बिरामी, वृद्धवृद्धा, बालबालिका तथा संवेदनशील क्षेत्र (अस्पताल,स्कुल) मा प्रत्यक्ष असर पर्ने उनको भनाई छ ।

कास्की प्रहरीले कडाइका साथ कारबाही गरेपनि मोडिफाइ बाइक चलाउने समूह झन् सक्रिय भएको पाइएको छ । पोखराका लामाचौर बाटुलेचौर, काहुखोला, रामबजार र न्यूरोडमा प्रहरीलाई चुनौती दिँदै चर्को आवाजमा मोटरसाइकल कुदाउने दिनहुँ भेटिन्छन् ।

टिप्पणीहरू