बलात्कारीलाई कारबाहीको माग चर्किंदै, स्वास्थ्य मन्त्रालय बाहिर धर्ना
संसारमा भगवान छन् वा छैनन् ? त्यो सबै समुदाय र व्यक्तिको आस्थामा भर पर्छ । तर, मानिसको ज्यान जोगाउने गरेका डाक्टरलाई भगवान मान्न सायद कोही पनि अप्ठेरो मान्दैनन् । मानिसको जीवन रक्षाको सवाल हुने भएकाले अस्पताल क्षेत्रलाई निकै संवेदनशील मानिन्छ ।
तर त्यही ठाउँमा एउटा महिला डाक्टरको सामूहिक बलात्कारपछि हत्या भयो हुन्छ भनेर कसैले सोच्न सक्छ ? अहिले यस्तै एउटा घटनाले भारतीय स्वास्थ्य क्षेत्र तातेको छ । देशभरका डाक्टर र नर्सहरु सेवा ठप्प पारेर सडक आन्दोलनमा उत्रिए । सामाजिक सञ्जालमा महिलाहरुको सुरक्षा चुनौतीबारे अनेकौं टिप्पणी गरिएको छ । अन्तर्राष्ट्रिय मिडियाले उक्त कहालीलाग्दो घटनालाई निकै प्राथमिकताका साथ प्रसार गरेका छन् ।
घटनाको पृष्ठभूमि (सम्भावित)
कोलकाताको आरजी कर मेडिकल कलेज । गत अगष्ट ९ गते साँझ । एमबिबिएसपछि इन्टर्नशीप गरिरहेकी डा. मौमिता देवनाथ ३६ घण्टाको सिफ्टपछि थाकेकी थिइन् । उनी कलेजकै एउटा कोठामा सुतिन् । तर राति (बिहान ३ बजेको समयमा) मौमिता सुतिरहेको कोठामा एक जना पुरुष छिरेर बलात्कार गरे । बिहान कलेजको सेमिनार हलमा मौमिताको शव अर्थनग्न अवस्थामा फेला परेको थियो ।
उक्त घटनालाई कलेजमै अध्धयनरत विद्यार्थीले बिहान तत्काल समाजिक सञ्जालमा सेयर गरे । त्यसको केही घण्टापछि घटनाले विकराल रुप लियो । बिहान ९ बजे सोही कलेजमा कार्यरत डाक्टर र नर्सहरुले सेवा बन्द गरेर दोषीलाई कारबाहीको निम्ति नाराबाजी थाले ।
प्रहरी र ल्याबको टोली पनि तत्काल घटनास्थल पुगिसकेको थियो । उनीहरुले शवको अवस्थाबारे तयार पारेको रिपोर्टमा भनिएको छ, ‘मौमिताको मुखबाट रगत बगेको, योनीबाट रगत बगेको, योनी भित्र र बाहिर १५० एमएल वीर्य भेटिएको, पेटमा चोट, देब्रे खुट्टामा चोट, दाहिने हातको औंलामा लगाइएको औँठी बाँगिएको, शरीरका विभिन्न अंगमा टोकेको ११३ वटा डाम, दुई खुट्टा ९० डिग्रीको कोणमा पुगेको अवस्थाको शवलाई पोस्टमार्टको निम्ति पठाइयो ।’
एकातिर सामाजिक सञ्जालमा मौमिताको हत्याको खबर आगाझैँ सल्किरहेको थियो भने अर्कोतिर कलेज बाहिर दोषीलाई काराबाहीको माग गर्दै नाराबाजी लागाउनेहरुको भीड बढिरहेको थियो । यसले प्रहरीलाई घटनाको अनुसन्धान चाँडै टुंगाउन दबाब पर्यो ।
प्रहरीले सोही राति अबेर मौमिताको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्यो । जसमा मुख्यतया पाँच कुरा उल्लेख छन् ।
(क) लगातार भएको धेरै यौन सम्बन्ध (बलात्कार) ले मौमिताको यौनांगमा गहिरो घाउ भयो, (ख) यौन सम्बन्धको क्रममा उनलाई चिच्याउन नदिन घाँटी थिचियो । जसको कारण मौमिताको थायराड कार्टिलेज टुट्यो, (ग) टाउको कुनै ढोका वा भित्तामा बजारियो, जसको कारण टाउकोबाट धेरै रगत बग्यो, (घ) उनले लगाएको चस्मा फुटेकाले सिसाको केही टुक्रा आँखामै गाडियो, र (घ) मौमिताको औँलाको नङमा अरू कसैको रगत पाइयो, सायद उनले आफू बच्न करणी गर्नेमाथि कोतरिन र त्यो पुरुषको रगत उनको शरीरमा लाग्यो ।
यी सबै घटना अगष्ट १० को राति भएका हुन् । त्यसपछि अगष्ट १२ मा प्रहरीले सिसिटिभी फुटेजको आधारमा सोही मेडिकलमा कार्यरत सञ्जय नामका कर्मचारीलाई पक्राउ गर्यो । मौमिताको नङमा लागेको रगत र सञ्जयको रगत ग्रुप एउटै थियो । सोही आधारमा उनी पक्राउ परेका हुन् ।
यता मौमिता र उनको परिवारको न्यायको लागि आन्दोलन गरिरहेका प्रदर्शनकारीले भने उनको सामूहिक बलात्कार भएको दाबी गरे । जसको केही आधार पनि तेर्साए, (क) मौमिताको यौनांगमा १५० एमएल वीर्य भेटिएको छ, जबकि एक पुरुषको वीर्य अधिकतम १० देखि २० एमएलमात्र हुन्छ । (ख) पेल्भिस हड्डीहरु शरीरका सबैभन्दा बलिया जोर्नीहरुबाट बनेका हुन्छन्, र एउटा वयस्क पेल्भिस हड्डी भाँचिन ठूलो शक्ति चाहिन्छ, जुन एक जना पुरुषबाट सम्भव हुँदैन ।
स्वास्थ्य विज्ञानका विभिन्न तथ्यले मौमिताको सामूहिक बलात्कार भएको स्पष्ट पार्दै उनीहरूले आन्दोलन जारी राखेका छन् । भोलिपल्ट चौतर्फी आलोचना र विरोधपछि मेडिकल कलेजका प्रमुख सन्दिप घोषले राजीनामा दिए । आन्दोलनकारीहरुले प्रहरीको अनुसन्धानमा कैफियत देखाउँदै घटनाको अनुसन्धान सिबिआईले गर्नुपर्ने माग राखे ।
अहिले घटनाको अनुसन्धान गर्ने जिम्मा सिबिआईलाई सुम्पिएको छ । र अस्ति राजीनामा दिइसकेका पूर्व कलेज प्रमुख सन्दिप घोषलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।
तर आन्दोलनकारी भने सबै दोषीहरुमाथि कारबाही सुनिश्चित नहुन्जेल आइसियु र इमर्जेन्सी बाहेकका सेवा बन्दगरी आन्दोलनमा उत्रिएका छन् । यसबीच उनीहरूले आज पनि स्थास्थ्य मन्त्रालयको गेटमा पुगेर नाराबाजी गरेका छन् ।
टिप्पणीहरू