नेपालको बिजुली भारतको हरियाणा लगिँदै
नेपालले भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । उक्त विद्युत द्विपक्षीय सम्झौताअनुसार भारतका बिहार र हरियाणा राज्यलाई उपलब्ध गराइने बताइएको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणामा थप एक सय २५ दशमलव ८९ मेगावाट र बिहारमा एक सय २५ मेगावाट विद्युत निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । हरियाणा राज्यलाई नेपालले एक सय नौ मेगावाट विद्युत् बिक्री गर्दै आएको छ ।
नेपालका १० जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ मेगावाट विद्युत् बिहारलाई र दुई जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ दशमलव ८९ मेगावाट विद्युत् हरियाणाका वितरण कम्पनीलाई बिक्री गरिने प्राधिकरणले जनाएको छ ।
आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युतको दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५ दशमलव ४५ भारु) तोकिएको छ । प्राधिकरणले चालु आवमा २५ अर्ब बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ ।
टिप्पणीहरू