शुरु भयो गाईजात्रा, राजधानीमा बिदा
आजदेखि परम्परागत सांस्कृतिक पर्व गाईजात्रा शुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन गाईजात्रा मनाइन्छ ।
विशेषगरी नेवार समुदायमा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा आज पहिलो दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आफ्नो क्षेत्रमा परिक्रमा गराइन्छ । उनीहरूलाई फलफूल, मिष्ठान्न भोजन र दक्षिणा दिइन्छ । यसो गर्नाले पछिल्लो एक वर्षभित्र मृत्यु भएका नातेदार गाईको पुच्छर समाएर वैतरणी तर्ने धार्मिक विश्वास छ ।
यो प्रचलन राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी रानीलाई सर्वसाधारणको घरमा पनि त्यस्तै शोक परेको देखाउन प्रारम्भ गरेका हुन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका साथै काभ्रेपलाञ्चोकका बनेपा, धुलिखेल, पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, नुवाकोटको त्रिशूली, दोलखा सदरमुकाम चरिकोट, खोटाङ, भोजपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरा, पाल्पालगायत बाक्लो नेवार समुदायको उपस्थिति रहेका स्थानमा गाईजात्रा विशेष रुपमा मनाइन्छ । आज सरकारले राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
टिप्पणीहरू