ट्रान्सफर्मर भित्रको तामा खोज्दै प्रहरी
-मोतीराम तिमल्सिना
जिल्लाका विभिन्न स्थानमा राखिएका बिजुलीका ट्रान्सफर्मर भित्रको महँगो तामा हराउन थालेपछि प्रहरी त्यसको खोजीमा सक्रिय भएको छ । ट्रान्सफर्मर भित्रको तामा चोरेर छिमेकी जिल्ला तथा उपत्यका भित्र्याउने गिरोहलाई कब्जामा लिएपछि प्रहरी थपको खोजीमा जुटेको बताइन्छ ।
गत असार र साउन महिनामा मात्रै जिल्लाका विभिन्न स्थानमा ट्रान्सफर्मर फुटाएर तार चोरिएको थियो । यसअघि नेपाल टेलिकमको तामाको तार चोरिएको थियो । अप्टिकल फाईबर मार्फत् टेलिकमले सेवा दिन थालेपछि चोरहरु बिजुलीका ट्रान्सफर्मरतर्फ आकर्षित भएका हुन् । उनीहरुले त्यसभित्र राखिएको तामाको डल्लो चोर्ने गरेको पाइएको छ ।
मोटरसाइकलपछि काभ्रेमा चोरहरुको मुख्य निशाना ट्रान्सफर्मर पर्न थालेको छ । पछिल्लो दुई महिनामा छ वटा घटनामा संलग्नहरु पक्राउ परेको सूचना अधिकारी एवम् प्रहरी प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । छ वटा ट्रान्सफरमर चोरीका घटनामा १० जना संलग्न रहेको पाइएको छ ।
उनीहरु सबै एउटै समूहको भएको प्रहरीको भनाई छ । ट्रान्सफर्मर चोरी गिरोहमा संलग्न सात जनालाई नियन्त्रणमा लिएपछिको प्रारम्भिक असुन्धानबाट चोरिएको तामा भक्तपुरका विभिन्न कवाडी पसलमा बेच्ने गरेको तथ्य खुलेको छ । इलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी वृत्त जगाती भक्तपुरको संयुक्त टोलीले गिरोहमा संलग्न थप तीन जनामार्फत् तामा बेचिएको पसल र अन्य प्रमाण जुटाएको हो ।
अनुसन्धानका क्रममा कवाडीधनीले त्यस्ता सामान लिन जाने क्रममा विभिन्न स्थानका ट्रासफर्मर यकिन गरेर गिरोहलाई खबर गर्ने गरेको पाइएको छ । उनीहरुले गाडीको व्यवस्था गरेपछि राति ट्रान्सफरमर झिकेर तामाको तारलाई भक्तपुरमा बिक्री गर्ने गरेको तथ्य खुलेको छ ।
प्रहरीले उक्त घटनामा संलग्नहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान थालेको छ । प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जिल्लाका विभिन्न स्थानमा भएका यस्ता चोरीमा थप संलग्नहरुको खोजी भएको जानकारी दिइन् ।
प्रहरीका अनुसार गत असार ७ गते राति १ बजेको समयम भुम्लु गाउँपालिका ९ मेलडाँडामा रहेको एनसेलको टावरमा रहेको कम्पाउण्डको ताल्चा फोरेर कम्पाउण्डभित्रको २५ केभिएको ट्रान्सफर्मर फुटाइएको थियो । त्यसभित्रको तीन लाख बराबरको तामाको तार र तीन हजार पर्ने ग्राउण्ड केवल ४० मीटर चोरिएको थियो । उक्त घटनामा जगन्नाथ बस्नेत, कुमार बिक, सन्तोष बिक, राजेश बिक, विष्णु बिशुंखे र दिकुल खत्री संलग्न रहेको पाइएको छ । त्यस्तै असार १६ गते राति तेमाल गाउँपालिका ५ मनकुलबेसिस्थित नेवारपाखा र छापडाँडा गाउँको खानेपानीका लागि जडान गरिएको २५ केभिए क्षमताको ट्रान्सफर्मर फुटाइ तामा चोरेका थिए ।
२०८१ असार २४ राति नमोबुद्ध नगरपालिका ६ स्थित राखिएको नमोबुद्ध बृहत खानेपानी आयोजनाको ट्रान्सफर्मर र २०८१ साउन ७ गते राति २ बजे नमोबुद्ध ५ साँधपोखरीमा रहेको कानपुर खानेपानी उपभोक्ता समितिको निर्माणाधीन कार्यालय भवनको कम्पाउण्डभित्र राखेको ५० केभिए क्षमताको तीन वटा ट्रान्सफर्मर फुटाइएको थियो ।
साउन ११ गते मण्डनदेउपुर नगरपालिका ९ रानिटारस्थित मेलम्ची जाने भित्री सडक खण्डमा रानिटार सिचांई आयोजनाको ५० केभिए क्षमताको ट्रान्सफर्मर फुटाएर ८० केजी तामा चोरिएको बताइन्छ । ती सबै घटनामा सोही समूहको संलग्नता पाइएको छ । साउन १८ गते मण्डनदेउपुर नगरपालिका ७ सोतेस्थित सिचाई क्रसर र खानेपानीका लागि राखिएको १५० केभिएको ट्रान्सफर्मर फुटाएर तामा र केही सामान बा.१ ज ७८३४ नम्बरको माइक्रो भ्यानमा हालेर बिक्रीका लागि भक्तपुर पुर्याइएको थियो ।
तामासँगै काभ्रेपलाञ्चोकमा मोटरसाइकल, स्कुटर, निजी घर, सहकारी, पसल तथा विभिन्न स्थानमा चोरीको क्रम बढेको छ । आर्थिक मन्दीका कारण व्यापारीहरु पलायन हुन थालेका छन् । यसबीचमा बचे खुचेका व्यवसाय र भौतिक सम्पत्तिको पनि चोरी हुन थालेपछि सर्वसाधारण चिन्तित देखिन्छन् ।
टिप्पणीहरू