काभ्रेमा आत्महत्या गर्नेमध्ये धेरैजसो बनेपा र पनौतीमा
काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो एक वर्षमा एक सय ३७ जनाले आत्महत्या गरेका छन् । पछिल्लो चार महिनामा ४८ जनाको आत्महत्याको प्रयास गरेकै बखत उद्धार गरिएको प्रहरीले जनाएको छ ।
आत्महत्याको क्रम बढेपछि त्यसको न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१ तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा जिल्लास्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति र जिल्लास्तरीय कार्यदल गठन गरिएको जनाइएको छ ।
आत्महत्या न्यूनीकरण अभियानमा सामूहिक प्रयासको थालनी गरिएको बताइन्छ । आर्थिक वर्ष २०८०÷२०८१ मा जिल्लामा एक सय ३७ जनाले आत्महत्या गरेका थिए । त्यो वर्ष मुलुकभर छ हजार नौ सय ४८ जनाले आत्महत्या गरेका थिए ।
पछिल्ला चार महिनामा जिल्लामा आत्महत्या प्रयास गरेका ४८ जना उपचारपछि घर फर्केका छन् । आर्थिक वर्ष २०७८÷२०७९ मा एक सय १२ जनाले र त्यसपछि २०७९÷२०८० मा ९० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०८०÷२०८१ मा उक्त संख्या बढेर एक सय ३७ पुगेको छ ।
आत्महत्यामा झुण्डिएकाको संख्या एक सय सात छ भने विष सेवन गरेकाको संख्या २८ छ । हाम्फालेर दुई जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गरेकामध्ये अधिकांश युवा हुन् भने केही बालबालिका र जेष्ठ नागरिक पनि रहेको प्रहरीले जनाएको छ ।
आत्महत्या गर्नेहरुको पेशामध्ये २५ जना नोकरी, कृषिकर्मका ७९, व्यापारी पाँच, विद्यार्थी २२ र अन्य छ जना हुन् । उमेरको हिसाबले १६ वर्ष मुनिका १९ जना, १६ देखि २५ वर्षसम्मका २२ जना, २६ देखि ३५ वर्ष उमेर समूहका २३ जना, ३६ देखि ४५ उमेर समूहका १६ जना, ४६ देखि ६० वर्षका ३८ जना, ६० वर्ष भन्दा माथिका १९ जना पाइएको छ ।
बारको हिसाबाले आइतबार २३, सोमबार १७, मंगलबार १४, बुधबार २७, बिहीबार १८, शुक्रबार १८ र शनिबार २० जनाले आत्महत्या गरेको देखिन्छ । आत्महत्या गर्नेमध्ये गरिबीलाई कारण देखाउँदै चार जना, दीर्घरोगी छ जना, प्रेममा असफल पाँच जना, नैराश्यता ३५ जना, मानसिक असन्तुलन गुमाएका ५७ जना, घरेलु हिंसामा परेका पाँच जना र अन्य २५ पाइएको छ ।
जिल्लाका १३ पालिकामध्ये सबैभन्दा धेरै बनेपा नगरपालिकाका स्थानीयले आत्महत्या गरेको देखिन्छ । बनेपामा २९ जनाले आत्महत्या गरेको र पनौती नगरपालिकामा एक वर्षमा २० जनाले आत्महत्या गरेका थिए ।
उता भुम्लु गाउँपालिकामा १५ जनाले आत्महत्या गरेका थिए । धुलिखेल र रोशी गाउँपालिकामा १३÷१३ जनाले आत्महत्या गरेका हुन् भने नमोबुद्धमा १२ जनाले आत्महत्या गरेको बताइन्छ । मण्डनदेउपुरमा ११ जना, पाँचखालमा नौ जना, बेथान्चोकमा आठ जना, तेमालमा चार जनाले आत्महत्या गरेका हुन् । महाभारत, खानिखोला र चौरीदेउरालीमा एक एक जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङमा उल्लेख छ ।
टिप्पणीहरू