महाबीर पुनको सुन्निएको खुट्टा र सरकारका मान्छेहरुको सेल्फी

महाबीर पुनको सुन्निएको खुट्टा र सरकारका मान्छेहरुको सेल्फी
सुन्नुहोस्

न त यो देशमा सत्य र सद्दे मान्छेको हीत हुँदैन । बाउपुस्ताले नै थाहा पाउने गरी असल विचारक मदन भण्डारीको षड्यन्त्रपूर्ण मरण हुनू, त्यत्रो ठूलो सुरक्षा घेराभित्र राजा बीरेन्द्रको बंशनाश हुनू । इतिहाँसमा प्रधानमन्त्री भीमसेन थापाले सेरिएर मर्न पर्नू । यस्तै यस्तै घटनाक्रमले गर्दा असल काम गर्नेहरु मर्छन्, असत्यहरु बाँच्छन् भनिन्छ । राणाकालमा भएका कैयौँ बालिका विवाह, बहुविवाह र त्यसपछि बृद्ध श्रीमानको देहान्तपछि जवानीमा सति जानुपरेका त्यस्ता दर्दनाक घटनाहरु नै घोर अपराध थियो । राणाका रानीहरु नै सति जानुपरेपछि आम जनताका श्रीमतीहरु त जसरी नि सति जानैपथ्र्याे, जान नमाने कुटी कुटी लगेर श्रीमानकै चितामा हालिन्थ्यो भनिन्छ । यही कारण पनि नेपालको विकास हुन नसक्नु, असत्यको जीत भइरहनुमा सतिले सरापेको देश भनिन्छ यदाकता । 

यस्तै सतिले सरापेका देशमा जन्मिएका एक बैज्ञानिक हुन् महाबीर पुन । अहिले हेटौँडा आइपुगेका छन् उनी । उनको उद्देश्य आफ्नो जीवनी लेखिएको किताब बेच्नू र बीरगन्जमा रहेको कृषि औजार कारखाना चलाउनु हो । न निजी सम्पत्तिको मोह, न पारिवारप्रतिको लगाव । उनै पुनः यतिखेर हेटौँडा वरिपरि घुमिरहेका छन् । दिनभरि स्वयम्सेवकहरुले उनलाई सहयोग गर्छन् । रातमा कसैले व्यवस्था गरिएको एक छाक खान्छन् र कसैले व्यवस्था गरिदिएको ओछ्यानमा सुतिदिन्छन् । 

७० बर्षका बैज्ञानिक पुनः अहिलेसम्म किता बेचेर २ सय दिन हिँडिसके । उनले १ लाख २५ हजार थान किताव बिक्री भइसकेको दाबी गरेका छन् । खुट्टा सुन्निएर मोटा मोटा देखिएका, थकितजस्ता तथा नहारेका सिपाहीजस्ता देखिएका पुन यतिखेर मकवानपुरको मनहरीमा ७ सय किता बिक्री गरेर हेटौँडातर्फ पुगेका हुन् । मनहरीतिर ७ सय थानजति किताब बिक्री गरेका उनले हेटौँडामा त्यसको दोब्बर बिक्री गरेका छन् । अन्य जिल्लाहरुमा एकल रुपमा किताब बेच्दै हिँडेका उनलाई मकवानपुर आएपछि संस्थागत रुपमा किताब किन्ने अभियान चलेकाले सजिलो पनि भएको छ । 

दुर्भाग्य त के भने यहाँका स्थानीय सरकार र प्रदेश सरकारका माननीयहरु समेत वैज्ञानिक पुनको किताव खरिद गरेको भनेर सामाजिक सञ्जालमा फोटो अपलोड गरेर खुब मज्जा लिइरहेका छन् । तर, आफू रहेको स्थानीय सरकार वा प्रदेश सरकारले उहाँले थालेको कृषि औजार उत्पादन कारखानामा सहयोग गर्ने कुरा वा उहाँको आविश्कारलाई आफ्नो सरकारमा अधिकतम प्रयोग गर्ने कुरामा ‘चुँ’ बोल्दैनन् । समाज यस्तो हुँदै गयो कि, वैज्ञानिक पुनहरुको बृद्ध शरीर र सुन्निएको खुट्टाको यात्रालाई घटाएर सजिलो बनाउने त कता हो कता ? त्यही फोटो देखाएर आफू निकै माथि छु भन्ने देखाउन चाहिरहेको प्रष्ट देखिन्छ । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका मनहरीका पूर्व सभापति नारायण सुवेदीले वैज्ञानिकले किताव बिक्री गर्ने भनेपछि वडाध्यक्ष तथा संघसंस्थाहरुसँग समेत समन्वय गरी मनहरी क्षेत्रमा ७ सय वटा किताब बिक्री गराइरहँदा पुनको जीवनबाट प्रभावित भएको बताए । ‘जब मान्छेमा लोभ, मोह केही पनि हुँदैन, तब उप्रति सबैको सद्भाव हुँदो रहेछ’, सुवेदीले भने । किताव बेचेर रकम जम्मा पार्ने र सोही रकमबाट कृषि औजार कारखाना चलाउने सोच राखेका पुनको अभियानलाई सरकारले एकै निर्णयले सफल बनाइदिन सक्ने भन्दै सुवेदीले सरकारले एकमुष्ट रकम लिएर कारखाना चलाउने वातावरण बनाइदिन अनुरोध गरे । 
 

टिप्पणीहरू