गौरा पर्व र कृष्ण जन्माष्टमी एकै दिन
सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा मनाइने गौरा पर्व यो वर्ष भदौ १० गते परेको छ । अठोला पञ्चाङ्गले सोमबार गौरा पर्व परेको जानकारी दिएको छ ।
भदौ ८ गते दिउँसो १२ बजेर ४८ मीनेटसम्म विरुडापञ्चमी उदयव्यापीनी पञ्चमी तिथि, भदौ ९ गते बिहान १० बजेर ३१ मीनेटसम्म पष्ठी तिथि, विरुडा धुने, नोला गौरा, विरुडा धोएकै दिन गौरा सप्तमी, अमुक्त भरण सप्तमी, भित्री गौरा रहेको पञ्चाङ्गकार ज्योतिष डिल्लीराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भदौ ११ गतेपछि आ–आफ्नो अनुकूलताअनुरुप गौरा सेलाउन सकिने जनाइएको छ । गौरा सुदूरपश्चिमको महत्वपूर्ण धार्मिक एवम् सांस्कृतिक पर्व हो । डोटी र कुमाउमा परापूर्वकालदेखि यो पर्व मनाउँदै आइएको छ । गौरा पर्वको पहिलो दिन महिलाहरु निराहार ब्रत बस्दछन् ।
उनीहरुले आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडामा विरुडा अर्थात पाँच थरीको गेडागुडी भिजाउँछन् । सोही गेडागुडी शिव तथा पार्वतीको पूजाआजामा अक्षता तथा प्रसादको रुपमा प्रयोग गरिन्छ । त्यसपछि महिलाहरुले धान, तील आदिको बोटबाट गौराको मूर्ति बनाई गौरा घरमा भित्र्याउँछन् ।
गौरा विसर्जन नगरेसम्म गौरा घरमा पुरुष तथा महिलाहरुले लोक भाकामा देउडा, चैत, धमारी खेल्ने प्रचलन छ ।
टिप्पणीहरू